पाटा नेपाल च्याप्टरले नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमसँगको सहकार्य तथा समन्वयमा नेपाली पर्यटन व्यवसायी, विद्यार्थी तथा सञ्चारकर्मीसहितको टोलीले गत भदौ २७ देखि २९ गतेसम्म मलेशियाको लङ्काबीमा आयोजित पाटा ट्राभल मार्टको ४१औँ संस्करणमा सहभागिता जनाएको थियो ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने निर्णय गरेअनुसार नेपाल पर्यटन बोर्डले पर्यटन प्रवर्द्धनका लागि स्वदेश तथा विदेशमा समेत प्रचारात्मक गतिविधिलाई तीव्रता दिएको छ ।
बोर्डले नेपाल भ्रमण वर्षलाई प्रभावकारी प्रचार गर्ने लक्ष्यका साथ ‘पाटा ट्राभल मार्ट २०१८’ मा बायर्स लाउन्जको प्रायोजन गरेको थियो । उक्त लाउन्जमा करिब २ सयभन्दा बढी अन्तर्राष्ट्रिय पर्यटन प्रर्वद्धनमा क्रियाशील व्यवसायीले व्यापारिक छलफल तथा नेपालका गन्तव्यका बारेमा चासो व्यक्त गरेका थिए । पाटा नेपाल च्याप्टरले नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमसँगको सहकार्य तथा समन्वयमा नेपाली पर्यटन व्यवसायी, विद्यार्थी तथा सञ्चारकर्मीसहितको टोलीले गत भदौ २७ देखि २९ गतेसम्म मलेशियाको लङ्काबीमा आयोजित पाटा ट्राभल मार्टको ४१औँ संस्करणमा सहभागिता जनाएको थियो ।
मलेशिया सरकारले आयोजना गरेको पाटा ट्राभल मार्टमा नेपालबाट दश पर्यटन व्यवसायी र संस्थाको सहभागिता थियो । पाटा ट्राभल मार्टमा विश्वभरिका ७० गन्तव्यबाट कूल एक हजार ४०० प्रतिनिधिले सहभागिता जनाएको पर्यटन बोर्डले जनाएको छ । पाटाले नेपाल, बङ्गलादेश, सिङ्गापुर, क्यानडा, फिलिपिन्स तथा मलेशियाबाट २१० युवा पर्यटन व्यवसायीलाई पनि आमन्त्रण गरेको थियो । बोर्डका वरिष्ठ प्रबन्धक सुनिल शर्माले नेपालको अलौकिक सौन्दर्य र विविधताका बारेमा अन्तर्राष्ट्रिय सञ्चार माध्यमले पनि चासोका साथ हेरेको भन्दै सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षका कार्यक्रम सफल हुने विश्वास व्यक्त गरे ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पाटा ट्राभल मार्ट नेपालको विविधता संसारसामु देखाउने अनुपम अवसर भएको बताए । पाटा ट्राभल मार्टमा राखिएको नेपालको कक्षमा दर्शकको आकर्षण थियो । खासगरी परम्परागत प्यागोडा तथा स्तुपा शैलीमा सजाइएका नेपाली पेभिलियनमा नेपालको प्राकृतिक, सांस्कृतिक तथा साहसिक पर्यटनका विविध सेवा तथा वस्तु राखिएको थिए । पाटा नेपाल च्याप्टरका मुख्य कार्यकारी निर्देशक सुरेशसिंह बुडालले पाटा नेपाल च्याप्टरले बेष्ट च्याप्टर अवार्ड पाउनु नेपाली पर्यटन क्षेत्रका लागि गर्वको विषय भएको बताउँदै दिगो पर्यटन विकासका लागि आवश्यक जिम्मेवारी अनुरुप युवापुस्तासँगको आवद्धतालाई प्राथमिकतामा राख्ने बताए । रासस