नेप्सेले आइतबार लगानीकर्तालाई समयमै दिनुपर्ने सूचना नदिई लगानीकर्ताको सूचनाको हक कुण्ठित गरेको भन्दै २४ घन्टे स्पष्टीकरण सोध्दै सेयर कारोबार गर्नसमेत रोक लगाएको थियो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत कम्पनी युनिलिभर नेपाललाई सचेत गराउँदै कारोबार खोलेको छ । नेप्सेले आइतबार लगानीकर्तालाई समयमै दिनुपर्ने सूचना नदिई लगानीकर्ताको सूचनाको हक कुण्ठित गरेको भन्दै २४ घन्टे स्पष्टीकरण सोध्दै सेयर कारोबार गर्नसमेत रोक लगाएको थियो ।
नेप्सेले आगामी दिनमा लगानीकर्तालाई दिनुपर्ने सूचना तत्कालै दिन र यस्ता गल्ती नदोहो¥याउन युनिलिभरलाई सचेत गराएको हो । नेप्सेको सचेतपत्रसँगै आगामी बिहीबारदेखि युनिलिभरको कारोबार गर्न बाटो खुलेको छ ।
नेप्सेले पत्रमा भनेको छ, ‘धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ४८ को उपदफा (१) अनुसार जारी निर्देशनलाई कार्यान्वयन गर्न र कारोबार प्रभावित हुने खालका गल्ती नदोहो¥याउन सचेत गर्दै कारोबारको अनुमति दिइएको छ ।’
नेप्सेमा सबैभन्दा उच्च मूल्यमा सेयर कारोबार भइरहेको युनिलिभरले गत वर्षको नाफाबाट ७ सय प्रतिशत नगद लाभांश घोषणा गरेको थियो । भदौ १२ गतेको कम्पनी सञ्चालक समितिले लाभांश वितरणको प्रस्ताव गरे पनि नेप्सेलाई भने भदौ २५ गते मात्रै जानकारी गराएको थियो । यसले लगानीकर्ताको सुसूचित हुने हकमा ठेस पुगेको भन्दै नेप्सेले स्पष्टीकरण सोधेको थियो ।
नेप्सेले कम्पनीले दिएको स्पष्टीकरण सन्तोषजनक नभए पनि अर्को दिनबाट कारोबार गर्न सक्ने व्यहोराको जानकारी मङ्गलबार सार्वजनिक गरेको छ । बुधबार संविधान दिवसका कारण सार्वजनिक बिदा भएकाले बिहीबारदेखि युनिलिभरको सेयर कारोबार गर्न बाटो खुलेको छ । युनिलिभरको कारोबार रोकिँदाको अन्तिम सेयर मूल्य प्रतिकित्ता २४ हजार ६ सय ६३ रुपैयाँ थियो ।