पर्यटकीय क्षेत्र २४सै घण्टा खुलाउन ढिलाइ

जिल्ला प्रशासन कार्यालयले काठमाडाैंका ठमेल र दरबारमार्ग क्षेत्रभित्रका केही स्थान २४सै घण्टा खुलाउने योजना ल्याएको थियो ।

काठमाडौँका पर्यटकीय क्षेत्रको व्यवसाय २४सै घण्टा खुला गर्ने सम्बन्धमा जिल्ला सुरक्षा समितिले निर्णय गर्न नसक्दा ढिलाइ भएको छ । जिल्ला प्रशासन कार्यालयले काठमाडाैंका ठमेल र दरबारमार्ग क्षेत्रभित्रका केही स्थान २४सै घण्टा खुलाउने योजना ल्याएको थियो ।

जिल्ला प्रशासन कार्यालयले काठमाडाैंका सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जिल्ला सुरक्षा समितिले निर्णय गर्न नसक्दा ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ घण्टा खुलाउने निर्णय कार्यान्वयनमा ढिलाइ भएको बताए । ‘‘हामीले सबै तयारी पूरा भएको जानकारी गराउँदा पनि समितिबाट निर्णय गर्न ढिलाइ भएकाले अहिलेसम्म पनि ती ठाउँलाई खुला गर्न सकेका छैनाैं’’ उनले भने ।

सहायक प्रजिअ घिमिरेको संयोजकत्वमा २४ घण्टा व्यवसाय खुला गराउने सम्बन्धमा अध्ययन समिति गठन गरिएकोे थियो । उक्त अध्ययन समितिले सम्पूर्ण तयारी गरी साउन १५ गतेदेखि ती क्षेत्रमा २४ सै घण्टा व्यवसाय गर्न पाउने गरी खुला गर्न सिफारिस गरेको थियो ।

जयनेपाल चोकबाट केशरमहल चोकसम्म, केशरमहल चोकबाट लैनचौर मोड, लेनचौर मोडबाट ठमेलस्थित मनाङ होटल चोक, मनाङ होटल चोकबाट सोह्रखुट्टे ओरालो हुँदै क्षेत्रपाटी चोक, क्षेत्रपाटी चोकबाट जेपी घुम्ती, ज्याठा चोकबाट जमल चोक, जयनेपाल चोकदेखि कृष्ण पाउरोटी, काठमाडौँ प्लाजा हुँदै महेन्द्र शालिक चोकसम्म २४सै घण्टा व्यवसाय खुला गर्ने सिफारिस भएको छ ।

चौबीस घण्टा व्यवसाय सञ्चालन गर्दा रात्रिकालीन मनोरञ्जन सेवा जस्तै क्लब, डिस्कोथेक, डान्सबार होटल तथा गेष्ट हाउस, मेडिकल सेवा, यातायात सेवा, बैकिङ सेवा, रेष्टुरेन्ट, बार, क्याफेजस्ता व्यवसाय खुलाउनुपर्ने छन् ।

पर्यटकलाई भित्र्याउनका लागि ती क्षेत्रमा २४ घण्टा व्यवसाय सञ्चालन गर्न खोजिएको हो । चौबीसै घण्टा व्यवसाय सञ्चालन गर्ने गेष्टहाउस, रेष्टुरेन्ट, दोहरी, डान्सबारले निश्चित शर्त राख्नुपर्नेसमेत उनले बताए ।

होटलको रिसेप्सनमा अनिवार्य रुपमा सिसी क्यामेरा राख्नुपर्ने, नेपाली ग्राहकलाई अनिवार्य रुपमा नागरिकता वा सवारी साधन अनुमतिपत्रको प्रतिलिपि राखी नाम, ठेगाना, फोन नम्बरसहितको आधिकारिक विवरण अद्यावधिक गर्ने, विदेशी ग्राहकका हकमा अनिवार्य राहदानीको प्रतिलिपि उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ । उनले चाँडै २४ घण्टा खुलाउने विषयमा समितिसँग छलफल गरिने बताए । रासस