चुनावपछि लगानीकर्ताले गुमाए १२८ अर्ब

कारोबार भएको पछिल्लो ८ दिनमा मात्रै नेप्से ९४.९४ अङ्कले घटेको छ भने मंसिर २१ को प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि मात्रै १११.३३ अङ्कले घटेको छ ।

नेपालको धितोपत्र कारोबार गर्ने स्थल नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से)मा बुधबार पनि ठूलो गिरावट आएको छ । पछिल्ला केही दिनदेखि दिनप्रतिदिन नेप्से तीव्र गतिमा ओरालो लागेको छ । यसले लगानीकर्ताको ठूलो पुँजी घटेको छ ।

गत मंसिर २१ गतेको निर्वाचनपछि मात्रै लगानीकर्ताले १ खर्ब २७ अर्ब ७६ करोड ६६ लाख रुपैयाँ गुमाएका छन् । बुधबार अन्तिम कारोबारपछि बजार पुँजीकरण १६ खर्ब ५७ अर्ब ७५ करोड २६ लाख रुपैयाँमा सिमित भएको छ । चुनावअघि नेप्सेको बजार पुँजीकरण १७ खर्ब ८५ अर्ब ४८ करोड ९२ लाख रुपैयाँ थियो । बजार सूचीकृत सेयर सङ्ख्यामा बजारको अन्तिम मूल्यले गुणा गर्दा बजार पुँजीकरण निस्कछ । यसरी चुनावपछिको करिब ३ सातामा लगानीकर्ताले ठूलो मूल्य चुकाएका छन् ।

बुधबार नेप्से २१.५३ अङ्क (१.४९) प्रतिशतले घटेर १४२५.२१ अङ्कमा पुगेको छ । मङ्गलबार पनि नेप्से २०.६४ अङ्क (१.४१ प्रतिशत)ले घटेर १४४७.०५ अङ्कमा अडिएको थियो । बुधबार कारोबार सुरु भएदेखि घटेको नेप्से मध्यक्रममा बढ्ने सङ्केत देखाएपनि फेरि कारोबारको पछिल्लो समयमा भने ह्वात्तै घटेको हो । नेप्से सुरुमा घटेर १४२२.३१ बिन्दुसम्म झरेपनि बीचमा भने १४४३.२२ बिन्दुसम्म पुगेको थियो । सेयर बजारमा प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रारम्भिक मतपरिणाममा वामगठबन्धनले अग्रता लिएदेखि घट्न सुरु गरेको नेप्से परिसूचकले थामिने सङ्केत अझ देखाएको छैन । गत साता ५ दिननै घटेको नेप्से यो साता पनि कारोबार भएको तीनै दिन दोहोरो अङ्कले घटेको छ ।

२०७३ साउन १२ मा १८८१.४५ बिन्दुमा पुगेर झर्न थालेको नेप्से परिसूचक पछिल्ला दिनमा भने तीव्रताका साथ घटिरहेको छ । कारोबार भएको पछिल्लो ८ दिनमा मात्रै नेप्से ९४.९४ अङ्कले घटेको छ भने मंसिर २१ को प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि मात्रै १११.३३ अङ्कले घटेको छ । वामगठबन्धनको बहुमत, सरकार निर्माणको अन्योल र फेरि तरलता (लगानीयोग्य रकम) अभावसँगै, ब्याजदरमा बृद्धिमा परेको चापले लगानीकर्ताको मनोबल गिरेको देखिन्छ । त्यसैगरी कम्पनीहरुको बोनस तथा हकप्रद सेयरको मूल्य समायोजनले पनि बजार घटाउन केही भूमिका खेलेको पाइन्छ ।

सेयर परिसूचकमा निरन्तर दोहोरो अङ्कको गिरावट आएपनि कारोबार रकम भने नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर र स्टान्डर्ड चार्टर्ड बैङ्कको सेयर १० करोड रुपैयाँभन्दा बढीको कारोबार भएपछि बुधबार अघिल्ला दिनको कारोबारभन्दा झन्डै ५० प्रतिशतले बढेको छ । बुधबार ७ हजार २ सय ८४ कारोबारबाट १३ लाख ६८ हजार ४ सय ७५ कित्ता सेयर किनबेच भई ७६ करोड ५७ लाख ६९ हजार ६ सय ६२ रुपैयाँबराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा सबैभन्दा बढी नेपाल लाईफको संस्थापक सेयर १० करोड ९९ लाख ९८ हजार १ सय ५० र स्ट्यान्डर्ड चार्टर्ड बैङ्कको १० करोड ७४ लाख १६ हजार १ सय ५१ रुपैयाँबराबरको सेयर किनबेच भएको छ । मङ्गलबार नेप्सेमा ६ हजार २ सय ५ कारोबारबाट १० लाख ३८ हजार २ सय ९८ कित्ता सेयर किनबेच भई ५४ करोड २ लाख ९१ हजार १ सय ४४ रुपैयाँबराबरको सेयर कारोबार भएको थियो ।

आजको कारोबारमा उत्पादनमूलक उपसूचक ६.५२ अङ्कले बढेपनि अन्य सबै समूह उपसूचकहरु घटेका छन् ।