पोखरा टू मुस्ताङ, चिसाेसँगै सरर (फाेटाे फिचरसहित)

लुम्लेको प्राकृतिक सौन्दर्य एवम् हावापानी, वरपर देखिने माछापुच्छ्रे, धौलागिरि, अन्नपूर्णलगायत हिमशृङ्खला आदिले पर्यटकलाई स्वर्गीय अनुभूति मात्र दिँदैनन्, सहरी वातावरणबाट टाढाको स्वच्छ सफा वातावरणले आफूलाई स्वागत गरेको अनुभव पनि गर्छन् ।

पोखरा र मुस्ताङ आफैंमा परिचय बनाएका दुई फरक स्थान हुन् । यी दुवैको आआफ्नै विशेषता छ । सराङकोटबाट गरिने प्याराग्लाइडिङ होस् वा फेवातालमा बोटिङ अथवा पोखरा वरपरका स्थानमा गइने हाइकिङले पर्यटकलाई मनोरञ्जन दिन्छन् नै । त्यसमा पनि पोखरादेखि मुस्ताङसम्मको यात्रामा जाने जोकोहीले यहाँका परिदृश्यलाई अवलोकन गरेर भरपूर मनोरञ्जन लिन सक्छन् ।

लुम्लेको प्राकृतिक सौन्दर्य एवम् हावापानी, वरपर देखिने माछापुच्छ्रे, धौलागिरि, अन्नपूर्णलगायत हिमशृङ्खला आदिले पर्यटकलाई स्वर्गीय अनुभूति मात्र दिँदैनन्, सहरी वातावरणबाट टाढाको स्वच्छ सफा वातावरणले आफूलाई स्वागत गरेको अनुभव पनि गर्छन् ।

हुन त लामो रुटमा यात्रा गर्दा थकान लाग्न सक्छ, तर पोखरादेखि मुस्ताङसम्मको यात्रामा पर्ने विभिन्न खोलानाला, जङ्गल, उकालीओराली, पहाडपर्वत, नदीको कलकल, छहराहरुको छङछङ आदिले सबै थकान बिर्साइदिन सक्छन् ।

त्यति मात्र होइन, बेनी कटेपछि देखिने अनौठा भौगोलिक दृश्यले पर्यटकलाई कताकता नयाँ संसारमा पाइला टेकेको अनुभूतिसमेत गराइदिन्छन् । बाटोमा पर्ने रुप्से झरना, तातोपानी, कागबेनी, मुक्तिनाथ जस्ता पर्यटकीय स्थल र कालीगण्डकीको एक किसिमको सुसाइले पनि आनन्दको सागरमा डुबुल्की खेल्न सघाउँछन् ।

काठमाडौंबाट हिँडेको पहिलो दिन पोखरा बसेर भोलिपल्ट त्यहाँका विभिन्न दृश्यावलोकन गर्दै अर्काे दिन मुस्ताङका लागि यात्रा गर्न सकिन्छ । यात्राका क्रममा ठाउँठाउँमा उच्चस्तरीय होटल एवम् रेस्टुराँको उचित व्यवस्था गरिएका कारण पर्यटकले कुनै किसिमको झन्झट बेहार्नुपर्ने अवस्था आउँदैन ।