फ्लाईइन नेपालले ल्यायो नयाँ सुविधा, आन्तरिक हवाई टिकट अब अनलाइनबाटै

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष एवम् जङ्गल सफारी लजका सञ्चालकसमेत रहेका घिमिरेले अनलाइनबाट बुकिङ गरेपछि पैसा सहज रुपमा तिर्न सकिने बताए ।

आन्तरिक हवाई टिकट अब अनलाइनबाटै बुकिङ गर्न सकिने भएको छ । अनलाइनमार्फत् टिकट बुकिङ गरेर चाहेको बेला हवाई यात्रा गर्न सकिने भएको हो ।

पर्यटन व्यवसायी सुमन घिमिरेको समूहले सञ्चालनमा ल्याएको फ्लाईइन नेपाल डट कमबाट ग्राहक आफैले टिकट बुकिङ गर्न सक्ने छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष एवम् जङ्गल सफारी लजका सञ्चालकसमेत रहेका घिमिरेले अनलाइनबाट बुकिङ गरेपछि पैसा सहज रुपमा तिर्न सकिने बताए । कम्पनीले ईसेवा र विभिन्न बैङ्कका डेबिट र क्रेडिट कार्डबाट भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ ।

‘सूचना प्रविधिलाई आत्मसात गर्दै अनलाइनमार्फत् हवाई टिकट सेवा सुरु गरेका हौं, अहिलेको जमानामा ट्राभल एजेन्सी धाएर टिकट किन्न समयले पनि भ्याउँदैन,’ घिमिरेले भने, ‘यसलाई सहज बनाउन हामीले प्रविधिमार्फत् उपभोक्तालाई जोडेका हौं ।’ अनलाइनबाट टिकट किन्दा उपभोक्तालाई पनि सहज हुने घिमिरेको भनाइ छ ।

कम्पनीले क्यान्सिलेसन शुल्क पनि कम लिने जनाएको छ । कम्पनीको क्यान्सिलेसन पोलिसीअनुसार यस्तो शुल्क बुकिङ भ्यालु र क्यान्सिलेसन समयका आधारमा रकम फिर्ता दिइने घिमिरेले बताए । कुनै कारण टिकट रद्द गर्नु परेमा समय र भ्यालुका आधारमा पैसा फिर्ता गर्ने कम्पनीको तयारी छ । यस्तै ग्राहकका लागि कस्टमर डेक्स सपोर्ट राखेको बताउँदै त्यहाँ फोन गरेर सहज रुपमा पैसा फिर्ता पाउन सकिने छ । कम्पनीका अनुसार कस्टमर हेल्प डेक्सको नम्बर ९७७१४४४४९९९ मा फोन गरेर तत्काल रकम फिर्ता लिन सकिन्छ ।