कालिञ्चोक केबलकार : प्रारम्भिक परीक्षण पास, तिहारअघि सञ्चालन

दोलखाको कालिञ्चोक गाउँपालिका १ कालिञ्चोकमा निर्माण भइरहेको केबलकारको काम अन्तिम चरणमा पुगेको छ । दसैंअघि नै सञ्चालन गर्ने तयारीका साथ काम गरिरहेको केबलकारले स्विट्जरल्यान्डबाट प्राविधिक नआएकाले ढिला भएको जनाएको छ ।

मुलुकको तेस्रो केबलकारको रुपमा स्थापना भएको कालिञ्चोक केबलकार प्रारम्भिक परीक्षणमा सफल भएको छ । कालिञ्चोक दर्शन लिमिटेडले दुई वर्षअघिदेखि निर्माण सुरु गरेको केबलकारले पहिलो चरणको टेस्ट पास गरेको हो ।

दोलखाको कालिञ्चोक गाउँपालिका १ कालिञ्चोकमा निर्माण भइरहेको केबलकारको काम अन्तिम चरणमा पुगेको छ । दसैंअघि नै सञ्चालन गर्ने तयारीका साथ काम गरिरहेको केबलकारले स्विट्जरल्यान्डबाट प्राविधिक नआएकाले ढिला भएको जनाएको छ । केबलकारका लागि आवश्यक सामग्री स्विट्जरल्यान्डबाट ल्याइएको हो ।

केबलकारका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले दसैंपछि स्विट्जरल्यान्डबाट इलेक्ट्रिकल र प्रोग्रामर इन्जिनियर आउने बताए । उनीहरुको काम बढीमा २–३ दिनको हुने र १५–२० दिन टेस्ट गर्नुपर्ने भएकाले आंशिकरुपमा तिहारअघि नै सञ्चालनमा आउने र पूर्णरुपमा मङ्सिरपछि मात्र सञ्चालन हुने शिवाकोटीको भनाइ छ ।

यसअघिको सरकारले केबकारलाई ४ प्रतिशत मात्र भन्सार शुल्क लाग्ने जनाएको थियो । तर अहिलेको सरकारले नयाँ नियम नबनेको भन्दै भन्सार छुट नदिँदा कम्पनीलाई थप आर्थिक भार पुगेको शिवाकोटीको भनाइ छ ।

दोलखाली उद्योगी व्यवसायीहरुको लगानी रहेको सो केबलकारमा ४ ओटा डब्बा छन् । हरेक डब्बामा १० जना बस्न सकिने क्षमता रहेको कम्पनीले जनाएको छ । कालिञ्चोकको कुरीबाट मन्दिरसम्म पुग्न एक किलोमिटर उकालो हिँड्नु पर्छ । कतिपय धार्मिक पर्यटकहरु त्यही उकालो चढ्न नसकेकै कारण बीच बाटोबाटै फर्किन बाध्य हुने गरेका छन् ।

केबलकारबाट मन्दिरसम्म पुग्न पाँच मिनेट मात्र लाग्ने भएकाले पनि धेरैको आकर्षणको केन्द्रबिन्दु हुनसक्ने सञ्चालक बालकृष्ण शिवाकोटीको भनाइ छ । केबलकारबाट कुरी बजार र हिमालका मनोरम दृष्य नजिकबाट नियाल्न सकिन्छ ।

२६ करोड रुपैयाँको लागतमा निर्माण गरिसक्ने लक्ष्य लिए पनि केबलकारको लागत ४० करोड रुपैयाँ पुगेको सीईओ शिवाकोटीले बताए । ‘सुरुमा २६ करोड रुपैयाँको लागतमा निर्माण गर्ने भनिए पनि निर्माण अवधि बढेसँगै सामानको मूल्य पनि बढेका कारण लागत वृद्धि भयो,’ उनले भने ।

केबलकारका लागि आवश्यक सामग्री स्विट्जरल्यान्डबाट ल्याइसकिएको जानकारी दिँदै हालसम्म दुई ओटा टावर निर्माण भइसकेको र बाँकी टावरको पनि काम भइरहेको कम्पनीले जनाएको छ ।