गोरखाको सामागाउँबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर नुवाकोटको मेघाङ गाउँपालिका–१ बर्सुङचेतको मैलुङपाखाको जङ्गलमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा पाइलटसहित ६ जनाको मृत्यु भएको थियो ।
९ दिनपछि अल्टिच्युड एयरको ’सस्पेन्ड’ फुकुवा भएको छ । भदौ २३ गते हेलिकोप्टर दुर्घटना परेपछि २९ गते नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सेफ्टी एसेसमेन्टका लागि भन्दै उडान रोकेको थियो ।
आइतबार रातिबाट ‘सस्पेन्ड’ फुकुवा गरिएको क्यानका उपमहानिर्देशक राजन पोखरेलले जानकारी दिए । अल्टिच्युड एयरले बुझाएको आवश्यक कागजातको अध्ययनपछि उडान अनुमति दिइएको उनको भनाइ छ । यता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा गठन गरेको छानबिन समितिले भने आवश्यक अनुसन्धान गरिरहेको छ । छानबिन समितिका संयोजक लामिछानेले घटनाको प्रतिवेदन आउन केही समय लाग्ने बताए ।
सोमबार बिहानैबाट नियमित उडान सुरु गरेको एयरलाइन्सका प्रबन्ध निर्देशक निमानुरु शेर्पाले जानकारी दिए । ‘क्यानको फुकुवापछि हामीले उडान सुरु गरेका हौं,’ प्रबन्ध निर्देशक शेर्पाले भने, ‘हामी यात्रुको सुरक्षाका लागि गम्भीर भएर लागेका छौं ।’ अल्टिच्युडले हाई अल्टिच्युड उद्धार, पर्यटकीय स्थल अवलोकन, माउन्टेन फ्लाइट गरिरहेको छ ।
गोरखाको सामागाउँबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर नुवाकोटको मेघाङ गाउँपालिका–१ बर्सुङचेतको मैलुङपाखाको जङ्गलमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा पाइलटसहित ६ जनाको मृत्यु भएको थियो ।