भोलिदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको आज बसेको बैठकले भोलि (मङ्गलबार)देखि अग्रिम टिकट खोल्ने निर्णय गरेको हो ।

दसैंका लागि अग्रिम टिकट भोलिदेखि खुला हुने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको आज बसेको बैठकले भोलि (मङ्गलबार)देखि अग्रिम टिकट खोल्ने निर्णय गरेको हो ।

यसअघि यातायात व्यवसायीले ५ गतेदेखि टिकट बुकिङ खोल्न सहमति जनाएका थिए । तर, इन्धनको भाउ बढेपछि भाडा समायोजन गर्नुपर्ने भन्दै बुकिङ रोकेका थिए ।

व्यवसायीले भाढा बढाउन दवाब दिएपछि सरकारले तत्काल १० प्रतिशत भाडा बढाउने र मङ्सिरसम्म भाडादर समायोजन गर्ने निर्णय गरेको थियो । सरकारको निर्णयसँगै व्यवसायीले टिकट बुकिङ खोल्ने भएका हुन् ।

आइतबार साँझ यातायात व्यवस्था विभागले नयाँ भाडादर निर्धारण गरेपछि महासङ्घको आज बसेको बैठकले भोलिदेखि टिकट बुकिङ खोल्ने निर्णय गरेको हो ।