बिमा र बैङ्किङ समूहले उचाल्यो बजार

आइतबार नेप्सेमा १ सय ६७ कम्पनीको ६ हजार ८ सय ३० कारोबारबाट ५५ लाख ४९ हजार ६ सय २१ कित्ता सेयर खरिदबिक्री भई ६९ करोड ३६ लाख ६१ हजार २ सय ५६ रुपैयाँबराबरको सेयर किनबेच भएको थियो ।

सेयर बजार मापक नेपाल स्टक (नेप्से) मङ्गलबार एकाएक २२ दशमलव ३७ अङ्कले बढेको छ भने १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । नेप्सेमा कारोबार भएका समूहमध्ये १० समैहमा सुधार आएपछि नेप्सेमा उछाल आएको हो । पछिल्लो समय सुधारको बाटोमा रहेको नेप्सेमा मङ्गलबार एकाएक २२ अङ्कको सुधार आएसँगै परिसूचक १ हजार २ सय ८० दशमलव ०५ अङ्क कायम भएको छ ।

आज १ हजार २ सय ५७ दशमलव ७४ अङ्कबाट सुरु भएको थियो । कारोबार सुरु भएदेखि नै उकालो लागेको सेयर बजारले आज कारोबारमा पनि फड्को मारेको छ । कारोबार खुलेदेखि लगातार बढेको बजार १७ अङ्कले बढेपछि ओरालो लाग्दै बढेकै अवस्थामा ११ अङ्क कायम भएको थियो । फेरि बजार आक्रामक रुपमा बढ्दै २५ अङ्कसम्मको वृद्धि भेट्याएको थियो । त्यसपछि नेप्से ३ अङ्कले घटेर २२ अङ्क बढेको अवस्थामा कारोबार बन्द भएको हो ।

बजार बढेको दिन आज नेप्सेमा १ सय ७३ कम्पनीका ९ हजार ७ सय ३० कारोबारबाट ४२ लाख ४२ हजार ६ सय ३३ कित्ता सेयर किनबेच भई १ अर्ब ८० लाख रुपैयाँबराबरको कारोबार भएको छ, जुन आइतबारको कारोबार रकमभन्दा ३१ करोडले बढी हो ।

आइतबार नेप्सेमा १ सय ६७ कम्पनीको ६ हजार ८ सय ३० कारोबारबाट ५५ लाख ४९ हजार ६ सय २१ कित्ता सेयर खरिदबिक्री भई ६९ करोड ३६ लाख ६१ हजार २ सय ५६ रुपैयाँबराबरको सेयर किनबेच भएको थियो ।

खासगरी वाणिज्य बैङ्कको पहिलो त्रैमासिकको वित्तीय विवरण, काठमाडौंमा हुन लागेको अन्तर्राष्ट्रिय पुँजीबजार सम्मेलन, घट्दो ब्याजदर जस्ता कारणले बजार उकालो लागेको हो । साथै, पछिल्लो समय बजारमा सबै खाले लगानीकर्ता सक्रिय रुपमा कारोबारमा लागेकाले पनि बजारले सकरात्मक बाटो सामातेको लगानीकर्ताको विचार छ ।

नेपाल इनभेस्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले बजार बुलिस ट्रेन्डमा गएकाले बढेको बताए । उनले अधिकांश बैङ्कले आफ्नो ब्याजदर रेट घटाएकाले पनि परिसूचक माथि गएको बताए ।

कृषि विकास बैङ्क र नेपाल बैङ्कले पनि सेयर धितोमा ऋण दिन थालेकाले पनि बजारमा सुधार भएको नेपाल पुँजीबजार सङ्घका अध्यक्ष नवराज सुेवदीको भनाए छ र यस्तै उनले अर्थमन्त्री बजारमैत्री भएको दाबीसमेत गरे । ‘नेपालमा हुन लागेको अन्तर्राष्ट्रय पुँजीबजार सम्मेलनको प्रभाव पनि परिसूचकमा देखिएको छ,’ उनले भने ।

आज नेप्सेमा सबैभन्दा बढी निर्जीवन बिमा ४९ दशमलव १९, विकास बैङ्क ३७ दशमलव ३१, जीवन बिमा ३७ दशमलव ३६ र बैङ्किङ २९ दशमलव १ अङ्कले बढेपछि बजारमा उछाल आएको हो । यस्तै आज नेप्सेमा अन्य समूहमा १ दशमलव ४६ अङ्कको सामान्य गिरावट आएको छ । त्सबाहेक नेप्सेमा सबे समूहमा सकारात्मक सुधार आएको छ ।