ककनीबाट यात्रा सुरु गरेर शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जलाई फन्को मार्दै त्यहाँ रहेका चराचुरुड्डीको आवाजसँगै आफ्ना पाइला चाल्न सकिन्छ । २०५८ सालमा स्थापना भएको सो निकुञ्ज नेपालको मध्यपहाडी क्षेत्र काठमाडौंको उत्तरी किनारामा पर्छ ।
काठमाडौंको धूलोधूवाँ र कोलाहलबाट केही समय मुक्त हुने सोचमा हुनुहुन्छ ? त्यसो हो भने गतिलो गन्तव्य बन्न सक्छ— ककनीदेखि सूर्यचौर । शान्त, स्वच्छ वातावरणमा १४ किलोमिटरको दूरी करिब तीन घण्टाको पैदल यात्रा गर्दै त्यहाँको मनोरम दृश्य नजिकबाट नियाल्न सकिन्छ ।
राजधानीबाट करिब २ घण्टाको गाडीको यात्रा गरेपछि नुवाकोट जिल्लाको ककनीमा पुगिन्छ । ककनीबाट यात्रा सुरु गरेर शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जलाई फन्को मार्दै त्यहाँ रहेका चराचुरुड्डीको आवाजसँगै आफ्ना पाइला चाल्न सकिन्छ ।
२०५८ सालमा स्थापना भएको सो निकुञ्ज नेपालको मध्यपहाडी क्षेत्र काठमाडौंको उत्तरी किनारामा पर्छ । यसको क्षेत्रफल १५९ वर्गकिमि छ । निकुञ्जले काठमाडौं, नुवाकोट र सिन्धुपाल्चोकको भूभाग ओगटेको छ ।
यात्राको क्रममा जंगल बीचबीचमा रहेका विभिन्न झाडीले त्यहाँको स्वरूप नै परिवर्तन गरेको छ । पछिल्लो समय काठमाडौंबाट धेरै मानिस त्यस ठाउँमा यात्राका लागि निस्कने गरेका छन् । निकुञ्जमा मृग, बदेललगायत वन्यजन्तु र कालिज पनि त्यहाँ पाइन्छ । नुवाकोटको ककनीबाट यात्रा सुरु गरेर शिवपुरी गाउँपालिकाको सूर्यचौरमा गएर यात्रा टुड्डिन्छ । सूर्यचौरबाट टोखा हुँदै काठमाडौं आउन सकिन्छ ।
३९ औं विश्व पर्यटन दिवसको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सो रुटको उद्घाटन गरेका छन् । नेपालको पर्यटन क्षेत्रको प्रचारप्रसारदेखि नयाँ गन्तव्य निर्माणका लागि मन्त्रालयले विभिन्न काम गरिरहेको बताए । राजधानीबाट नजिकै रहेको यो गन्तव्यको आवश्यक प्रचारप्रसार हुन सके दैनिक सयौं पर्यटक आउने मन्त्री अधिकारीको भनाइ छ ।
भक्तपुरको नगरकोट र नुवाकोटको ककनीको हावापानी उस्तै रहेको र सोही किसिमको पूर्वधार निर्माण गर्न उनले सम्बन्धित निकायलाई निर्देशनसमेत दिएका छन् । काठमाडौंवासीको नजिकको गन्तव्य नभएकै कारण यो रुट उनीहरूको लागि अत्यन्त महत्त्वूर्ण रहने मन्त्री अधिकारीको भनाइ छ । नुवाकोटको सूर्यचौरलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न मन्त्रालयलले आवश्यक सहयोग गर्ने उनले बताए ।
चक्रपथबाट साढे १३ किलोमिटरको दूरीमा सूर्यचौर पर्दछ । सूर्यचौरबाट राजधानीलाई नजिकबाट नियाल्न सकिने र हिमालको दृश्यावलोकन गर्न सकिने भएकाले पछिल्लो समय धेरै पर्यटक आउने गरेको शिवपुरी गाउँपाालिकाका अध्यक्ष रामकृष्ण थापाको भनाइ छ ।
पर्यटन दिवसका अवसरमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले मंगलबार हाइकिङ कार्यक्रम आयोजना गरेको थियो । राजधानीनजिकै गतिलो गन्तव्य रहँदारहँदै पनि ओझेलमा परेको भन्दै त्यसको प्रचारप्रसारका लागि हाइकिङ कार्यक्रम आयोजना गरिएको टानका महासचिव आङपेम्बा शेर्पाले जानकारी दिए ।