पहिलो पर्यटकलाई सम्मान

विश्व पर्यटन दिवसको उपलक्ष्यमा पर्यटन कार्यालय काँकडभिट्टाले उक्त सम्मान गरेको हो ।

पूर्वी नाकाबाट आज नेपाल प्रवेश गरेका पहिलो तीन जना पर्यटकलाई काँकडभिट्टामा सम्मान गरिएको छ ।

विश्व पर्यटन दिवसको उपलक्ष्यमा पर्यटन कार्यालय काँकडभिट्टाले उक्त सम्मान गरेको हो । अध्यागमन कार्यालय काँकडभिट्टाका अनुसार सम्मानित भएका पर्यटकमा थाइल्यान्डका अरुनमेन उदनान र चाचना सिनपुरु र भने भारतको आसामका रञ्जन कश्यप छन् ।

उनीहरुलाई सम्मानस्वरुप झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले खादा र अबीर लगाइ दिएका थिए । सो अवसरमा महिला पर्यटकलाई हरियो पोते र पुरुष पर्यटकलाई ढाका टोपी लगाएर सम्मान गरिएको थियो । थाई पर्यटक चाचना सिनपुरुले भगवान् बुद्ध जन्मेको देश नेपाल अति सुन्दर र शान्त छ भन्ने पढेर नेपाल घुम्न आएको बताए ।

भारतको गुवाहाटीस्थित आसाम डाउन टाउन युनिभर्सिटीका अन्तर्राष्ट्रिय विभागका प्रमुखसमेत रहेका भारतीय पर्यटक रञ्जन कश्यपले काठमाडौँमा पशुपतिनाथको दर्शन गर्ने चाहना राखेर नेपाल आएको बताए ।