३९औं विश्व पर्यटन दिवस, चालीस प्रतिशत पर्यटक दोहोर्याएर आउँछन्

‘टुरिजम एन्ड दि डिजिटल ट्रान्सफर्मेसन’ भन्ने मूल नाराका साथ ३९औं विश्व पर्यटन दिवसका अवसरमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले ४० प्रतिशत पर्यटक पुनः नेपालमा आउनु भनेको नेपालका लागि गौरवको विषय भएको बताए ।

नेपालमा आउने विदेशी पर्यटकमध्ये ४० प्रतिशत दोहोर्याएर आउने गरेका छन् । नेपालको प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदाहरुप्रति उनीहरुको मोह बढेका कारण दोहोर्याएर आउने गरेका हुन् ।

‘टुरिजम एन्ड दि डिजिटल ट्रान्सफर्मेसन’ भन्ने मूल नाराका साथ ३९औं विश्व पर्यटन दिवसका अवसरमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले ४० प्रतिशत पर्यटक पुनः नेपालमा आउनु भनेको नेपालका लागि गौरवको विषय भएको बताए । पर्यटन क्षेत्रको विकास र विस्तारसँगै विदेशी एवम् स्वदेशी पर्यटकहरुको आकर्षण बढ्दै गएको मन्त्री अधिकारीको भनाइ छ ।

‘विश्वको पर्यटनलाई हेर्दा नेपालको पर्यटन उत्साहजनक छ,’ मन्त्री अधिकारीले भने, ‘तर खुसी हुने अवस्थामा भने हामी छैनौं ।’ दुई वर्षभित्र पर्यटकका लागि आवश्यक पूर्वधार निर्माण गरिसक्ने बताउँदै भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक पुर्याउन खासै समस्या नपर्ने बताए । पछिल्लो समय सडक मार्गमार्फत् नेपाल आउने पर्यटकको सङ्ख्या बढ्दै गएकाले भारत र चीनसँग जोडिएका सडकहरुको स्तरवृद्धितर्फ पनि मन्त्रालयले आवश्यक समन्वय गरिरहेको मन्त्री अधिकारीले बताए ।

नेपालको पर्यटन क्षेत्रको विकासमा आन्तरिक पर्यटकले पनि महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले त्यसतर्फ पनि ध्यान दिन सम्बन्धित निकायलाई अनुरोध गरेका छन् । उनले आगामी वर्षदेखि सरकारी कर्मचारीलाई अनिवार्य रुपमा नेपालका पर्यटकीय स्थल घुम्न जानुपर्ने बाध्यकारी नियम लागू गर्ने तयारी गरिरहेको मन्त्री अधिकारीको भनाइ छ । जसले गर्दा आन्तरिक पर्यटनमा ठूलो टेवा पुग्छ ।

विश्व पर्यटन दिवसका अवसरमा नेपाल पर्यटन बोर्डले पर्यटनको क्षेत्रमा सहयोग पुर्याएको भन्दै विभिन्न विधामा सम्मान गरेको छ । नेपालमा धेरै पर्यटक भित्र्याएको भन्दै जेट एयरवेज, ट्याक्स तिर्नेतर्फ नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान), विदेशी मुद्रातर्फ नेपाल वायु सेवा निगम र नयाँ पर्यटकीय गन्तव्यतर्फ शाश्वत धाम नवलपरासीलाई सम्मान गरिएको छ । यस्तै भ्रमण वर्ष २०२० को उत्कृष्ट लोगो बनाउने उद्धवराज रिमाललाई एक लाख रुपैयाँसहित सम्मान गरियो ।

अङ्ग्रेजी महिनाको २७ सेप्टेम्बरका दिन हरेक वर्ष विश्व पर्यटन दिवस मनाउने गरिन्छ । ‘सन् १९८० देखि औपचारिक रुपमा सुरु भएको यो दिवसका दिन विभिन्न मुलुकले आफ्ना देशमा आउने पहिलो पर्यटकलाई आकर्षक प्याकेज दिने गर्दछन् । होटल एसोसिएसन अफ नेपाल (हान)ले विश्व पर्यटन दिवसका अवसरमा २० प्रतिशत छुट दिने घोषणा गरेको छ ।

यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहानै नेपाल आएका पर्यटकहरुलाई पर्यटन बोर्डका सीईओ दीपकराज जोशी लगायतले खादा लगाएर स्वागत गरेका छन् । यसैगरी पोखरा, चितवन लगायतका विभिन्न स्थानमा पनि विश्व पर्यटन दिवस मनाइँदै छ । विभिन्न नाका हुँदै नेपाल आउने पर्यटकलाई पनि सम्मान गरिएको छ ।