दुई वर्षभित्र पर्यटन पूर्वाधारमा उल्लेख्य सुधार हुन्छ : मन्त्री अधिकारी

हामी वातावरणमैत्री र छिटोछरितो ढङ्गबाट गन्तव्यको बजारीकरण र प्रवद्र्धन गर्न सक्छौं । सूचना प्रविधिलाई व्यावसायिकतामा रुपान्तरण गरी अधिकतम लाभ लिन सक्नु नै आजको युगको आवश्यकता हो । हामी जस्तो विकासोन्मुख मुलुकका लागि यो अझ उपयोगी र महत्त्वपूर्ण हुन जान्छ ।

आज ३९ औं विश्व पर्यटन दिवस । ‘टुरिजम एन्ड दि डिजिटल ट्रान्सफर्मेसन’ भन्ने मूल नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाइँदै छ । नेपाल पर्यटन बोर्डले बिहीबार आयोजना गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले सम्बोधन गरेका थिए । उक्त अवसरमा मन्त्री अधिकारीले गरेको सम्बोधनको सम्पादित अंश यस्तो थियो–
विश्व पर्यटन दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन पाउँदा अत्यन्त खुसी लागेको छ । सम्पूर्ण उपस्थित महानुभावमा विश्व पर्यटन दिवसको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । टुरिजम एन्ड द डिजिटल ट्रान्सफर्मेसन भन्ने थिममा यस वर्षको विश्व पर्यटन दिवस मनाइँदै छ । यसको महत्त्व र मर्म नेपालको सन्दर्भमा अझ सान्दर्भिक छ । वर्तमान अवस्थामा पर्यटन विश्वव्यापी रुपमा सूचना प्रविधिसँग जोडिएको त छ । तर नेपालमा अझै पनि परम्परागत ढङ्गमै पर्यटनको प्रवद्र्धन तथा व्यवस्था भइराखेको छ । यद्यपि यस क्षेत्रमा पनि पछिल्ला वर्षहरुमा नेपालले उल्लेखनीय फट्को मारेको महसुुस गर्न सकिन्छ ।

अबको समयमा अधिकतम व्यवसाय सञ्चालन तथा सूचना सम्प्रेषण एउटा कोठाको कुनामा राखेको कम्प्युटरबाट हुन्छ र बहुसङ्ख्यक विकसित मुलुकहरुमा पर्यटकले आफ्नो मोबाइलको मार्पmतबाट गन्तव्यको पहिचान, जानकारी, कार्यक्रम तय गर्ने मात्र होइन कि बुकिङ तथा भुक्तानी गर्ने गर्दछन् । तसर्थ हामीले पनि आफ्नो सेवालाई डिजिटाइज गर्नुपर्ने आवश्यकता छ । र साथै हाम्रा पोस्टर, ब्रोसर केन्द्रित प्रचारप्रसारका माध्यमलाई डिजिटल माध्यममा रुपान्तरण गर्नु पर्ने बेला आएको छ, जसले गर्दा हाम्रा साधनस्रोतको अधिकतम उपयोग हुन जान्छ । हामी वातावरणमैत्री र छिटोछरितो ढङ्गबाट गन्तव्यको बजारीकरण र प्रवद्र्धन गर्न सक्छौं । सूचना प्रविधिलाई व्यावसायिकतामा रुपान्तरण गरी अधिकतम लाभ लिन सक्नु नै आजको युगको आवश्यकता हो । हामी जस्तो विकासोन्मुख मुलुकका लागि यो त अझ उपयोगी र महत्त्वपूर्ण हुन जान्छ ।

हाम्रो मुलुकका विभिन्न पर्यटकीय गन्तव्य तथा विविधतालाई छिटोभन्दा छिटो डिजिटलाइज गर्नुपर्ने प्राथमिक आवश्यकता हो । र दूर दराजमा प्रदान गरिँदै आएका पर्यटकीय सेवाहरुलाई पनि सूचना प्रविधिको मूल प्रवाहमा ल्याउनुपर्दछ । साथसाथै, हामीले हासिल गरेका उपलब्धिहरुलाई पनि विश्वबजारमा पु¥याउन आवश्यक छ ।

उदाहरणका लागि, भूकम्पग्रस्त पुरातात्विक सम्पदाको पुनर्निर्माण कार्यले लिएको तीव्रताका कारणले करिब ८० प्रतिशतभन्दा बढी सम्पदाहरुको पुनर्निर्माण सम्पन्न भइसकेको छ । बाँकी २० प्रतिशत आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य सरकारले लिएको छ । लामो समयदेखि अड्केको गौतमबुद्ध विमानस्थल आगामी वर्षमा सञ्चालनमा आउने गरी कार्य अगाडि बढिरहेको अवस्था छ भने नेपालको पर्यटकीय छवि क्रमशः सुधारोन्मुख छ ।

भिजिट नेपाल २०२० अभियानलाई सफल तुल्याउन र न्यूनतम लक्ष्य २० लाख अन्तर्राष्ट्रिय पर्यटकको सङख्या पु¥याउने कार्यमा हामी सबैको संयुक्त प्रयास आवश्यक छ । यसका लागि पनि डिजिटल माध्यमलाई सशक्त रुपमा उपयोग गर्नुपर्ने आवश्यकता छ ।

विश्व पर्यटनको सन्दर्भलाई अध्ययन गर्दा हाम्रो पर्यटनको अवस्था निराशाजनक छैन । तथापि उत्साहजनक पनि हुन नसकेको यथार्थ हो । यूएनडब्ल्यूटीओको तथ्याङ्कअनुसार सन् २०२० सम्म विश्वमा १ अर्ब ६० करोड पर्यटकले वार्षिक रुपमा भ्रमण गर्ने गर्छन् । र २० खर्ब अमेरिकी डलर खर्च हुन्छ । सन् १९९२ देखि नै संसारमै पर्यटन सबैभन्दा ठूलो रोजगारदाताको रुपमा स्थापित भएको पर्यटन क्षेत्रले नेपालमा अझै पनि आशातित रुपमा विकास गर्न सकेको छैन । डब्ल्यूटीटीसी इकोनमिक इम्प्याक्ट–२०१७ को तथ्याङ्कअनुसार विश्व अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान १०.२ प्रतिशत छ भने २०१६ मा कुल रोजगारीको ९.६ प्रतिशत अर्थात् २९ करोड २० लाखले यो क्षेत्रबाट रोजगारी प्राप्त गरेको अवस्था छ । यो सन्दर्भमा नेपाल जस्तो पर्यटकीय सम्भावना र अवसर तथा भौगोलिक परिस्थितिमा यसको योगदान मुलुकको अर्थतन्त्रमा १० प्रतिशत पु¥याउनु सर्वथा सान्दर्भिक र सम्भव छ । साथै चीनको वार्षिक आउटबाउन्ड टुरिस्टको सङ्ख्या १३ करोड ५० लाख तथा भारतको ५ करोड रहेको सन्दर्भमा नेपालमा वार्षिक २० लाख पर्यटक पु¥याउने उद्देश्यले घोषणा गरिएको भिजिट नेपाल २०२० लाई हामीले एक ऐतिहासिक अवस्थाका रुपमा लिनुपर्छ ।

नेपालमा पर्यटकको बसाइँ अवधि लम्ब्याउनु र प्रतिपर्यटक खर्च बढाउनु हाम्रो अहिलेको एक महत्त्वपूर्ण चुनौती रहेको छ । यद्यपि बसाइँ अवधिको विगतको ट्रेन्ड हेर्दा त्यति नराम्रो छैन । इन्नोभेटिभ ट्राभल आइटनरी तयार गरी पर्यटकहरुलाई फरकपन दिन सक्नु अहिलेको आवश्यकता हो । हाम्रो मार्केटिङ एन्ड प्रमोसन मोडालिटीलाई समयानुकूल अद्यावधिक गर्दै लानुपर्दछ । यसका लागि नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रको सहकार्य अपरिहार्य छ ।

नेपाल सरकारले पर्यटनलाई महत्व मात्र दिएको छैन, यसलाई राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण हिस्साका रुपमा विकास गर्न पूर्वाधार निर्माणका कार्यहरुले गतिशीलता लिएका छन् । आगामी २ वर्षभित्र पूर्वाधारमा उल्लेखनीय सुधार र विकास हुनेछ भन्नेमा म विश्वस्त छु ।