पुँजीबजार सुधार गर्न इन्भेस्टर्स फोरमको माग

फोरमले दोस्रो बजारमा हुने अस्वाभाविक उतारचढावलाई कम गर्ने, मार्जिन ल्यान्डिङ सुरु गर्न यथाशीघ्र पहल गर्ने, गैरआवासीय नेपालीलाई पुँजीबजारमा प्रवेश गराउने, ब्रोकरको कमिसन घटाउनेलगायत माग राखेको छ ।

नेपाल इन्भेस्टर्स फोरमले बजार सुधार गर्न नेपाल धितोपत्र बोर्डसँग ३० बुँदे मागपत्र बुझाएको छ । फोरमले नेपाली पुँजीबजार सुधारका लागि भन्दै बोर्डसँग सञ्चार माध्यमलाई नियन्त्रणदेखिका माग पेस गरेको छ ।

बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीलाई बुझाइएको उक्त पत्रमा बैङ्कलाई ब्रोकर लाइसेन्स छिटो उपलब्ध गराउने, म्युचुअल फन्डलाई दिइँदै आएको साधारणतर्फको आरक्षण कम्तीमा ३ वर्षको हुनुपर्नेलगायतका माग छन् । फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलको नेतृत्वमा टोली बोर्ड गएको थियो ।

फोरमले दोस्रो बजारमा हुने अस्वाभाविक उतारचढावलाई कम गर्ने, मार्जिन ल्यान्डिङ सुरु गर्न यथाशीघ्र पहल गर्ने, गैरआवासीय नेपालीलाई पुँजीबजारमा प्रवेश गराउने, ब्रोकरको कमिसन घटाउनेलगायत माग राखेको छ ।

कमजोर क्रेडिट रेटिङ भएका कम्पनीलाई आईपीओ जारीको स्वीकृति नदिने, एफपीओको मूल्य तोक्ने वैज्ञानिक र सर्वमान्य आधार तय गर्ने, मर्जर तथा एक्विजिसन प्रक्रियालाई सुलभ बनाउने, साधारणसभा सम्पन्न भएको ७ दिनभित्र बोनस सेयर तथा लाभांश वितरण गर्नेलगायतका व्यवस्था मिलाउन माग गरेको छ ।