निगमले जोमसोम, सिमिकोट, ताल्चा, जुम्ला, डोल्पा र लुक्लामा उडान गर्ने तयारी गरेको छ । निगमले चार वर्षपछि चिनियाँ जहाजले उडान गर्न लागेको हो ।
नेपाल वायुसेवा निगमले दसैंलाई लक्ष्य गरी दुईवटा चिनियाँ जहाज दुर्गम क्षेत्रमा उडाउने तयारी गरेको छ । लामो समयदेखि ग्राउन्डेड रहेको वाई १२–ई का दुई जहाजले केही दिनअघि दुर्गमका ६ ठाउँमा परीक्षण उडान गरेको थियो ।
परीक्षण उडान सफल भएपछि दसैंअघि नै त्यस ठाउँमा नियमित उडानका लागि अनुमति लिन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)मा आवश्यक डकुमेन्ट सोमबार पठाउने तयारी गरिरहेको निगमका प्रवक्ता अशोक सिग्देलले जानकारी दिए । ‘६ ठाउँमा उडान गर्न अनुमति लिन लागेका छौं’, उनले भने, ‘दसैं अघि नै उडान भर्छौं ।’
निगमले जोमसोम, सिमिकोट, ताल्चा, जुम्ला, डोल्पा र लुक्लामा उडान गर्ने तयारी गरेको छ । निगमले चार वर्षपछि चिनियाँ जहाजले उडान गर्न लागेको हो । ४ ओटा जहाजमध्ये २ ओटा जहाजले परीक्षण उडान गरेको छ । अर्को २ वटा जहाजको मर्मतसम्भार भइरहेको छ । तीमध्ये एउटा जहाज तिहारअघि उडाउने तयारीका साथ मर्मत भइरहेको र अर्को जहाजको इन्जिन बनाउन क्यानाडामा पठाइएको प्रवक्ता सिग्देलले जानकारी दिए ।
निगमले लामो समयदेखि पाइलट अभाव र मर्मतसम्भार नभएको भन्दै चिनियाँ जहाज उडान गरेको थिएन । सरकारले निगमको कार्यकारी अध्यक्षमा मदन खरेललाई नियुक्ति गरेसँगै दुर्गम क्षेत्रमा उडान भर्न लागेको हो । निगमको अध्यक्षमा नियुक्ति भएपछि खरेलले कर्मचारीहरुलाई सम्बोधन गर्दै जहाज खरिदमा भन्दा भएको जहाज उडाउनेतर्फ आफ्नो ध्यान केन्द्रित हुने बताएका थिए ।