पहुँचयुक्तता तर्फको इनोभेटिभ अवार्डबाट चन्द्रागिरि हिल्स पुरस्कृत

आइतबार राजधानीमा आयोजित विशेष कार्यक्रमका बीच महिला बाल–बालिका तथा जेष्ठनागरिक मन्त्री थममाया थापाले उक्त सम्मान चन्द्रागिरि हिल्सका महाप्रवन्ध अभिषेक विक्रम शाहलाई प्रदान गरेकी हुन् ।

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले चन्द्रागिरि हिल्स लिमिटेडलाई पहुँचयुक्तता तर्फको इनोभेटिभ अवार्डबाट सम्मान गरेको छ । आइतबार राजधानीमा आयोजित विशेष कार्यक्रमका बीच महिला बाल–बालिका तथा जेष्ठनागरिक मन्त्री थममाया थापाले उक्त सम्मान चन्द्रागिरि हिल्सका महाप्रवन्ध अभिषेक विक्रम शाहलाई प्रदान गरेकी हुन् ।

काठमाडौंको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरि पर्वतमा निर्माण भएको एकीकृत पर्यटकीय गन्तव्य चन्द्रागिरि हिल्स परिसरका मुख्य संरचनाहरू अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा बालबालिकामैत्री बनाइएको छ । पहुँचयुक्तता प्रवर्द्धन गर्ने र्याम्प, पदमार्ग, शौचालय, विद्युतीय गाडी तथा व्हील–चियर लगायतका सुविधाले हजारौं पर्यटक तथा तीर्थयात्रुलाई ऐतिहासिक दर्शनीय तथा रमणीय स्थल भ्रमण गर्न सहज बनाएको छ । नेपालको पर्यटन प्रवर्द्धनमा यस्तो इनोभेटिभ कार्य गरेवापत् चन्द्रागिरि हिल्स लिमिटेडलाई उक्त सम्मान प्रदान गरिएको आयोजक संस्था राष्ट्रिय अपाङ्ग महासङ्घले जनाएको छ ।

राष्ट्रिय अपाङ्ग महासङ्घले पहिलो पटक प्रदान गरेको सम्मानबाट चन्द्रागिरि हिल्सलगायत अन्य तीन सङ्घ–संस्था सम्मानित भएका छन् । सम्मान कार्यक्रममा मन्त्री थापाले अपाङ्ग मैत्री संरचना निर्माणमा चन्द्रागिरि एउटा नमुना परियोजना भएको विश्वास व्यक्त गरिन् । चन्द्रागिरि हिल्सका महाप्रवन्धक अभिषेक विक्रम शाहले चन्द्रागिरि परिसरमा निर्माणाधीन रिसोर्टसमेत अपाङ्गमैत्री निर्माण गरिएको जानकारी दिँदै यसबाट फरक क्षमता भएका व्यक्तिका लागि समेत चन्द्रागिरि मुख्य गन्तव्य बन्ने विश्वास व्यक्त गरे ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।