चौधरी ग्रुपको होटलमा ताज ग्रुपको व्यवस्थापन

सीजी हस्पिटालिटीका कार्यकारी निर्देशक राहुल चौधरी र द इन्डियन होटल्स कम्पनी लिमिटेडका प्रवन्ध निर्देशक एवम् कार्यकारी अधिकृत पुनित चटवालबीच यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि उक्त होटल ‘भिभान्ता काठमाडौं’को नाममा सञ्चालनमा आउनेछ ।

चौधरी ग्रुपको मुख्य लगानीमा निर्माण गरिएको ललितपुरको झम्सिखेलस्थित चारतारे डिलक्स होटलको व्यवस्थापन अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ताज ग्रुपले गर्ने भएको छ । सीजी हस्पिटालिटीका कार्यकारी निर्देशक राहुल चौधरी र द इन्डियन होटल्स कम्पनी लिमिटेडका प्रवन्ध निर्देशक एवम् कार्यकारी अधिकृत पुनित चटवालबीच यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि उक्त होटल ‘भिभान्ता काठमाडौं’को नाममा सञ्चालनमा आउनेछ ।
हस्पिटालिटी उद्योगमा विश्वभर प्रख्यात ताजलाई चौधरी ग्रुपले डेढ दशकपछि काठमाडौं भित्र्याएको हो । यसअघि ताजले चौधरी ग्रुपअन्तर्गतकै विख्यात जङ्गल सफारी रिसोर्ट मेघौली सेराईको व्यवस्थापन पनि सम्हालिरहेको छ ।

‘नेपालको हस्पिटालिटी क्षेत्रमा अब हामी सशक्त रूपमा उपस्थित भएका छौँ । ताज जस्तो विख्यात ब्रान्डमा होटल सञ्चालनमा ल्याउन पाएकोमा हामी अत्यन्तै खुसी छौँ,’ ग्रुपका कार्यकारी निर्देशक राहुल चौधरीले भने, ‘हामी नेपालको पर्यटनलाई अर्को तहमा पु¥याउन प्रतिबद्ध छौँ । र, सोही सोंचमा आधारित रहेर होटल एवम् रिसोर्ट निर्माण गरिरहेका छौँ ।’

यो होटल सन् २०१८ को नोभेम्बरमा उद्घाटन गर्ने लक्ष्य राखिएको छ । हाल होटलमा आन्तरिक सजावटका काम भइरहेका छन् । होटलमा सुइटसहित एक सय ११ रूम छन् ।

इन्डियन होटल्स कम्पनी लिमिटेडका महाप्रबन्धक एवम् कार्यकारी अधिकृत पुनित चटवालले भने– ‘नेपालमा चौधरी ग्रुपजस्तो प्रतिष्ठित ग्रुपद्वारा प्रवर्धित आर एन्ड आर होटल्स एन्ड रिसोर्टसँग नयाँ होटेलमा साझेदारी बन्न पाउनु गौरवको कुरा हो । पर्यटकीय दृष्टिकोणले काठमाडौं प्रख्यात स्थान हो । यस साझेदारीले मेघौली सराईसँग टुरिष्ट सर्किटको रुपमा जोड्ने हाम्रो चाहना पूरा हुनेछ ।’

होटलको १०औँ तलामा ‘इन्फिनिटी स्विमिङ पुल’ निर्माण गरिएको छ । त्यसैगरी होटलमा २५ देखि ३५ वर्ष उमेर समूहका युवाहरूलाई लक्ष्यगरी रुफ टप बारको व्यवस्था मिलाइएको छ, जहाँ डिजेको प्रस्तुतिसँगै विश्वमा उपलब्ध सबै प्रकारका मदिरा हुनेछन् ।

चौधरी ग्रुप र ताजबीचको साझेदारीमा श्रीलङ्का, माल्दिभ्स, थाईलैन्ड, दुबई र भारतमा विख्यात होटल एवम् रिसोर्टहरू सञ्चालनमा छन् ।