दुई धार्मिकस्थल जोड्दै बाबा गोकर्णेश्वर यातायात, साँखु – दक्षिणकाली रुटमा ४० बस

कम्पनीका ४० ओटै बस साँखुबाट थली, नारायणटार, जोरपाटी हुँदै चाबहिल पुग्नेछन् । चाबहिलबाट तीन ओटा रुट हुँदै दक्षिणकाली पुग्नेछन् ।

बाबा गोकर्णेश्वर यातायातले मङ्गलबारदेखि साँखुदेखि दक्षिणकालीसम्म ४० ओटा बसमार्फत् सेवा विस्तार गरेको छ ।

नयाँ ३० र पुराना १० ओटा गरी ४० ओटा बस दक्षिणकालीसम्म विस्तार गरेको हो । कम्पनीका ४० ओटै बस साँखुबाट थली, नारायणटार, जोरपाटी हुँदै चाबहिल पुग्नेछन् । चाबहिलबाट तीन ओटा रुट हुँदै दक्षिणकाली पुग्नेछन् ।

पहिलो रुटका बस चाबहिलबाट चक्रपथ, बसुन्धरा, नयाँ बसपार्क, स्वयम्भु, कलङ्की, बल्खु हुँदै दक्षिणकाली चल्नेछन् । दोस्रो रुटका बस चाबहिलबाट गौशाला, कोटेश्वर, सातदोबाटो चक्रपथको घुम्दै बल्खु पुगेर दक्षिणकाली जानेछन् । तेस्रो रुटका बस चाबहिलबाट गौशाला हुँदै रातोपुल, रत्नपार्क, त्रिपुरेश्वर, कालीमाटी, बल्खु हुँदै दक्षिणकाली पुग्नेछन् । यसैगरी दक्षिणकालीबाट छुट्ने बसहरु जुन रुटबाट गएका थिए सोही रुट फिर्ता हुनेछन् ।

कम्पनीका अध्यक्ष भीम बस्नेतले केही समयभित्रै थप दुई रुटमा सेवा विस्तार गर्ने जानकारी दिए । उनका अनुसार २० ओटा नयाँ बसमार्फत् दुई नयाँ रुटमा १० – १० ओटा बस सुरु गरिने छ । नयाँ रुटमा अर्यालगाउँ, गौरीघाट, गौशाला हुँदै चक्रपथ परिक्रमा गर्नेछन् । अर्को रुटमा जगडोल, पैयुँटार, फैका, कपन, चाबहिल हुँदै चक्रपथ परिक्रमा गर्नेछन् र सोही रुट हुँदै फिर्ता हुनेछन् ।

करिब डेढ वर्षअघिबाट २५ ओटा बसमार्फत् सेवा थालेको गोकर्णेश्वर यातायातले मङ्गलबार नयाँ बस थपेसँगै ८१ ओटा पुगेका छन् । कम्पनीका अध्यक्ष बस्नेतले सबै गाडीहरुले यात्रुलाई समयमै गन्तव्यमा पुर्याउने लक्ष्य लिएको दाबी गरे । ‘अहिले राजधानीमा चल्ने अधिकांश बस यात्रु कुरेर बस्ने गरेका छन्,’ उनले भने ‘हामी ननस्टप बस चलाएर समयमै गन्तव्यमा पुर्याउछौं ।’

अहिले चालक, सहचालकसहित २ सय जना कर्मचारीलाई कम्पनीले रोजगारी दिएको छ । कम्पनीले ठूला बस सञ्चालन गरेर निलो माइक्रोको १० वर्षको एकाधिकार तोडेको छ ।