पर्यटन मन्त्रीलाई गोल्छाले सोधे– सपिङ डेस्टिनेसन खै ?

भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक नेपालमा भित्र्याउने सरकारी योजना बनाइरहँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने विश्वमै नभएको सुनचाँदी चेकिङ गर्ने प्रक्रियाले पर्यटकलाई नकारात्मक सन्देश गएको बताए । उनले नेपाललाई सपिङ डेस्टिनेसनसँगै म्यारिज डेस्टिनेसन पनि बनाउन सकिने बताए । त्यसका लागि यहाँका होटलहरुको स्तराेन्नति हुन आवश्यक रहेको उनको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)का वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पर्यटनमन्त्री रवीन्द्र अधिकारीसमक्ष नेपाललाई सपिङ डेस्टिनेसन बनाउन प्रस्ताव राखेका छन् ।

२०२० लाई भ्रमण वर्षको घोषणा गरे पनि नेपालको नयाँ उत्पादन केही नभएकोले सपिङ डेस्टिनेसनको रुपमा विकास गरी विश्वका पर्यटकलाई नेपालमा तान्न सकिने बताए ।

महासङ्घको पर्यटन तथा हवाई यातायात उपसमितिले काठमाडौंमा आयोजना गरेको ‘भिजन फर नेपाल २०२०’ कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष गोल्छाले सरकारले सपिङ डेस्टिनेसन बनाउनका लागि आवश्यक वातावरण बनाइदिए निजी क्षेत्र त्यसको लागि तयार रहेको बताए । नेपाल आउने धेरै पर्यटकहरु चीन र भारतका हुने र उनीहरु नयाँ ठाउँमा गएर किनमेल गर्न धेरै इच्छुक हुने भएकोले नेपालमा सपिङ डेस्टिनेसन बनाउन आवश्यक रहेको वरिष्ठ उपाअध्यक्ष गोल्छाको भनाइ छ ।

भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक नेपालमा भित्र्याउने सरकारी योजना बनाइरहँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने विश्वमै नभएको सुनचाँदी चेकिङ गर्ने प्रक्रियाले पर्यटकलाई नकारात्मक सन्देश गएको बताए । उनले नेपाललाई सपिङ डेस्टिनेसनसँगै म्यारिज डेस्टिनेसन पनि बनाउन सकिने बताए । त्यसका लागि यहाँका होटलहरुको स्तराेन्नति हुन आवश्यक रहेको उनको भनाइ छ ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीले सपिङ डेस्टिनेसन र म्यारिज डेस्टिनेसनको लागि आवश्यक छलफल गर्ने बताए । “निजी क्षेत्रले राखेको प्रस्तावमा सकारात्मक छु,’ मन्त्री अधिकारीले भने, ‘आवश्यक समन्वयमा काम अगाडि बढाउने हो ”। नेपाल आउने पर्यटकहरुले के चाहन्छन् त्यही किसिमको पूर्वाधार बनाउन निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न मन्त्रालय तयार रहेको मन्त्री अधिकारीको भनाइ छ ।

महासङ्घका उपाअध्यक्ष चन्द्रप्रसाद ढकालले सात अाेटै प्रदेशमा चन्द्रागिरि जस्तै एकीकृत पर्यटकीय पूर्वाधार बनाउन आफूहरु तयार रहेको बताउँदै त्यसका लागि आवश्यक सहयोग सरकारले गर्नुपर्ने बताए । पूर्वाधार विना पर्यटकलाई नेपालमा राख्न नसकिने बताउँदै सरकारले नीति बनाए आफूहरु पूर्वाधार बनाउन तयार रहेको जानकारी दिए ।

महासङ्घको पर्यटन तथा हवाई यातायात उपसमितिका सभापति ज्योत्सना श्रेष्ठले भारत र चीनबाट पर्यटकलाई नेपाल भित्र्याउनका लागि भारत र चीनमा पर्यटन मार्टको आयोजना गर्न लागिएको बताइन् । उनले नोभेम्बरमा भारत र डिसेम्बर भित्रमा चीनमा गरिसक्ने बताउँदै सो कार्यक्रममा नेपालको गन्तव्यहरुको बारेमा विस्तृत जानकारी गराउने योजनाका साथ तयारी अघि बढाइको सभापति श्रेष्ठको भनाइ छ।