आकाशमा चरी भएर कावा खाँदा…

सन् २००८ देखि नेपालमा सुरु भएको स्काइडाइभमार्फत हावामा कावा खाने पर्यटक बढ्दै गएका छन् । ट्राभलले एभरेस्ट स्काइडाइभमार्फत सगरमाथा क्षेत्र र पोखरा स्काइडाइभमार्फत पोखरा आसपास क्षेत्रमा स्काइडाइभ गराइरहेको छ । हेलिकोप्टर चढेर आकाश पुगेपछि १२ हजार फिट माथिबाट हामफाल्नुको मज्जा लुट्न नोभेम्बर ९ देखि ११ तारिखसम्म पोखरामा स्काइडाइभ गरिएको थियो ।

नीलो आकाशबाट चराझैं उड्न कसलाई पो मन लाग्दैन होला र ? तर पर्खिनुहोस्, त्यो सुविधा पनि छ । एकैछिन भए पनि हावामा तैरिएर जमिन र आकाश नियाल्न मन हुनेका लागि विकल्प दिएको छ — एक्स्प्लोर हिमालयन ट्राभलले । यसले सगरमाथा र पोखरा क्षेत्रमा आकाशबाट हामफाल्ने मज्जा लुट्नेका लागि बर्सेनि कार्यक्रमको आयोजना गर्दै आएको छ ।

सन् २००८ देखि नेपालमा सुरु भएको स्काइडाइभमार्फत हावामा कावा खाने पर्यटक बढ्दै गएका छन् । ट्राभलले एभरेस्ट स्काइडाइभमार्फत सगरमाथा क्षेत्र र पोखरा स्काइडाइभमार्फत पोखरा आसपास क्षेत्रमा स्काइडाइभ गराइरहेको छ । हेलिकोप्टर चढेर आकाश पुगेपछि १२ हजार फिट माथिबाट हामफाल्नुको मज्जा लुट्न नोभेम्बर ९ देखि ११ तारिखसम्म पोखरामा स्काइडाइभ गरिएको थियो । तीन दिन भएको स्काइडाइभमा ९० जना पर्यटक सहभागी थिए, जसमा ६० जना भारतीय पर्यटक रहेको ट्राभलले जानकारी दिएको छ ।

२००८ देखि हालसम्म ३ सय ५० भन्दा बढीले सगरमाथा क्षेत्रमा स्काइडाइभ गरिसकेका छन् । सगरमाथा क्षेत्रमा २३ हजार फिटमाथिबाट स्काइडाइभ हुने गरेको छ । नेपालमा साहसिक पर्यटन प्रवद्र्धनका लागि हरेक बर्ष स्काइडाइभको आयोजना हुँदै आएको ट्राभलका प्रबन्ध निर्देशक सुमन पाण्डेले जानकारी दिए । ‘विदेशबाट नै टिम र उपकरण ल्याएर हामीले सगरमाथा र पोखरा क्षेत्रमा स्काइडाइभको आयोजना गरिरहेका छौं,’ उनले भने ।

पोखरा क्षेत्रमा नेपालीलाई ६० हजार र विदेशीलाई १ लाख रुपैयाँसम्म लिएर स्काइडाइभ गराउने गरिएको उनले बताए । सगरमाथामा भने विदेशीका लागि २५ हजार डलरमा स्काइडाइभ हुँदै आएको छ । सगरमाथामा हुने स्काइडाइभको अवसर पारेर त्यही टिम र उपकरण पोखरामा गर्ने भएकाले पोखरामा सस्तो पर्ने कम्पनीको भनाइ छ । ‘अहिले नेपालमा वर्षमा एकपटक मात्र स्काइडाइभ भइरहेको छ । यो प्रवद्र्धनात्मक हो । अब यसलाई व्यावसायिक रुपमा अगाडि बढाउने योजना छ,’ पाण्डेले भने । उडेको १३ मिनेटमै स्काइडाइभ गर्ने व्यक्ति जमिनमै आइपुग्छ । हेलिकोप्टरबाट हामफाल्दा ४० सेकेन्ड फ्रिफल हुने पाण्डेले जानकारी दिए ।