हवाई उडान सुरु

यसअघि भोजपुरबाट विराटनगर र काठमाडौँबाट उडान भर्दै आएको ट्वीनअटर जहाज मर्मतका लागि राखिएकाले साउन तेस्रो सातादेखि हवाइ सेवा बन्द भएको थियो ।

बन्द भएको करिब दुई महिनापछि आजदेखि नेपाल वायुसेवा निगमको भोजपुर – काठमाडौँ हवाई उडान सुरु भएको छ । यसअघि भोजपुरबाट विराटनगर र काठमाडौँबाट उडान भर्दै आएको ट्वीनअटर जहाज मर्मतका लागि राखिएकाले साउन तेस्रो सातादेखि हवाइ सेवा बन्द भएको थियो ।

जहाजको मर्मत गरिएपछि निगमले नियमित सेवा सुरु गरेको छ । हवाई सेवा सुरु भएसँगै भोजपुर – काठमाडौँ सातामा शनिबार, मङ्गलबार, बुधबार, बिहीबार र शुक्रबार गरी पाँच उडान तथा विराटनगरमा सातामा एक दिन (सोमबार) उडान हुने निगम भोजपुरका सहायक प्रमुख राजु मिजारले बताए ।

उडान सेवा पुनःसञ्चालन भएसँगै दशैंमा घर आउने तथा जाने यात्रुलाई सहज भएको छ । त्यस्तै उपचारका लागि भोजपुर अस्पतालबाट सुविधासम्पन्न अस्पतालमा सिफारिश गरिएका बिरामीलाई पनि राहत मिलेको छ । रासस