नेपालले खरिद गर्ने अधिकांश जहाज र हेलिकप्टरहरु युरोपबाटै ल्याउने गरेको तर त्यही जहाजलाई युरोपमा उडान अनुमति नदिइएको मन्त्री अधिकारीले बताए ।
युरोपियन युनियन (ईयू)को उडान कालोसूचीबाट नेपाललाई हटाउन आवश्यक पहल गरिदिन अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ)का प्रतिनिधिलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले आग्रह गरेका छन् । ईयूले विगत पाँच वर्षदेखि नेपाली हवाई उडानलाई युरोपेली आयोगले कालोसूचीमा राख्दै आएको छ ।
नेपाल भ्रमणमा आएका आईकाओका पूर्वसचिव रेमन्ड बेन्जामिन, एयरबसका उपाध्यक्ष यानिक मल्लिङलगायतका प्रतिनिधिहरुसँग बिहीबार मन्त्रालयमा भएको भेटमा मन्त्री अधिकारीले ईयूको कालोसूचीकै कारण युरोपमा नेपाली ध्वजावाहक जहाजले उडान भर्न नपाएको बताए । नेपालले खरिद गर्ने अधिकांश जहाज र हेलिकप्टरहरु युरोपबाटै ल्याउने गरेको तर त्यही जहाजलाई युरोपमा उडान अनुमति नदिइएको मन्त्री अधिकारीले बताए ।
‘ईयूको कालोसूचीबाट हट्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सुधार गर्नुपर्ने के के हो ? त्यसको सूची पाएमा हामी सुधार गर्न तयार छौं,’ मन्त्री अधिकारीले भने, ‘तर सधैं कालोसूचीमा राख्न त भएन नि !’ ईयूकै कालोसूचीका कारण जापान, अस्ट्रेलियालगायतका मुलुकमा नेपाली ध्वजावाहक जहाजले उडान भर्न नसकेको बताए ।
भेटमा आईकाओका प्रतिनिधिहरुले ईयूको कालोसूचीबाट हटाउन आवश्यक सहयोग गर्ने बताएका छन् । उनीहरुले क्यानको पछिल्लो सुधारप्रति खुसी व्यक्त गरेका छन् ।