दाङमा भोलिदेखि नेवानिको उडान

काठमाडौंबाट दाङको भाडादर ६ हजार ७० रुपैयाँ र दाङबाट काठमाडौं ५ हजार ८ सय ८० रुपैयाँ निर्धारण गरिएको छ ।

नेपाल वायुसेवा निगमले भोलि (सोमबार)बाट प्रदेश पाँचको दाङस्थित टरिगाउँ एयरपोर्टमा नियमित उडान गर्ने भएको छ । विशेषगरी दसैंतिहार र छठ पर्वमा घर जाने यात्रुको सहजताको लागि निगमले सोमबारबाट नियमित रुपमा जहाज उडाउने भएको हो ।

निगमका प्रवक्ता अशोक सिग्देलका अनुसार चिनियाँ जहाज वाई १२ले साताको दुई पटक सोमबार र शुक्रबार उडान हुनेछ । काठमाडौंबाट दाङको भाडादर ६ हजार ७० रुपैयाँ र दाङबाट काठमाडौं ५ हजार ८ सय ८० रुपैयाँ निर्धारण गरिएको प्रवक्ता सिग्लेलले जानकारी दिए । पछिल्लो समय नेपाल वायुसेवा निगमले ग्राउन्डेड रहेका जहाजहरुलाई धमाधम मर्मत गर्दै उडान सुरु गरिरहेको छ । लामो समयदेखि ग्राउन्डेड रहेको ट्विनअटर जहाज मंगलबारसम्ममा बनिसक्ने र नियमित उडान सुरु गर्ने उनले बताए ।

निगमले दाङबाट भैरहवामा पनि उडान गर्ने तयारी गरेको छ । त्यसका लागि भाडादर निर्धारणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई पत्रचार गरेको छ । क्यानले ४ हजार १४२ रुपैयाँ भाडादर निर्धारण गरी स्वीकृतिका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएको छ ।

२०११ सालदेखि सञ्चालन भएको उक्त एयरपोर्ट अनियमित हुँदै आएको छ । इन्धन डिपो नहुनु, धावनमार्ग सानो हुनु जस्ता कारणले जहाज नियमित हुन सकेको थिएन । पर्यटनमन्त्री रवीन्द्र अधिकारीले भदौ ३१ गते टरिगाउँ एयरपोर्टको स्थलगत अनुगमन गरी जहाज सञ्चालन गर्ने बताएका थिए । त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले समग्र दाङको विकास र समृद्धि टरिगाउँ एयरपोर्टसँग जोडिएकाले यसलाई छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन मन्त्री अधिकारीलाई अनुरोध गरेका थिए ।