स्याल लुक्ने झाडी सफा गर्दै नेपालगन्ज विमानस्थल

१ सय ६५ बिघामा फैलिएको विमानस्थलमा रहेको झाडी सफा गर्न सोमबार ६ जना र मङ्गलबारबाट दैनिक १०/१० जनाको समूहमा कामदार खटाउन लागिएको छ ।

नेपालगन्ज विमानस्थल वरपर रहेको झाडी सफा गर्न सुरु गरिएको छ । विमानस्थल आसपासमा कुनै पनि जनवार र चराचुरुङ्गी नबसून् भनेर झाडी सफा गर्न लागिएको हो ।

नेपाल नागरिक उड्डयन कार्यालय नेपालगन्जका निर्देशक एवम् विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले सोमबारबाट झाडी सफा गर्न लागिएको बताए । १ सय ६५ बिघामा फैलिएको विमानस्थलमा रहेको झाडी सफा गर्न सोमबार ६ जना र मङ्गलबारबाट दैनिक १०/१० जनाको समूहमा कामदार खटाउन लागिएको उनले जानकारी दिए ।

विमानस्थल आसपासमा बस्ती रहेको र बस्तीका धेरै मानिसले तारबार काटेर घाँस काटिदिने गरेका कारण जङ्गली जनवारहरू भित्र प्रवेश गर्ने गरेको उनले बताए । ती बस्तीमा गएर विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दा पनि नियन्त्रण गर्न नसकिएको उनको भनाइ छ । त्यसैले झाडी फाँडेपछि केही मात्रामा समस्या समाधान हुने निर्देशक ठाकुर बताउँछन् ।

यसैबीच काठमाडांैबाट नेपालगञ्जका लागि उडेको यती एयरलाइन्सको ‘एटीआर–७२’ विमान नेपालगञ्ज विमानस्थलमा अवतरण गर्ने क्रममा आइतबार धावनमार्गमा स्याल ठोक्किएको थियो । तर कुनै क्षति भने नभएको उनको भनाइ छ ।

विमानमा स्याल ठोक्किएपछि केही समय विमानस्थलमा उडान रोकिएको थियो । विमानले किचेको स्याल हटाएर सफा गरेपछि आइतबार रातिबाटै पूर्ण रूपमा विमानस्थल सुचारु भएको निर्देशक ठाकुरले जानकारी दिए ।