नेप्सेमा १० समूह बढेको दिन जलविद्युत् ओरालो

कारोबार भएका ११ समूहमध्ये १० समूहमा सुधार आउँदा नेप्से बढेको हो । नेप्सेमा कारोबार भएका अधिकांश समूहमा वृद्धि देखिए पनि जलविद्युत् समूहमा भने गिरावट आएको छ ।

सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार ७ अङ्कले बढेको छ । कारोबार भएका ११ समूहमध्ये १० समूहमा सुधार आउँदा नेप्से बढेको हो । नेप्सेमा कारोबार भएका अधिकांश समूहमा वृद्धि देखिए पनि जलविद्युत् समूहमा भने गिरावट आएको छ ।

विगत केही दिनयता तीव्र रुपमा घट्दै आएको बजार साताको दोस्रो दिन एकाएक बढेको छ । सोमबार बजारमा सेयर किन्न चाहने लगानीकर्ताको सङ्ख्या बढेपछि परिसूचक सामान्य अङ्कले बढेको हो । घटेको समयमा नेप्सेमा बिक्रीकर्ताको चाप देखिन्थ्यो ।

सोमबार नेप्सेमा जलविद्युत् ३ दशमलव ४ अङ्कले घट्नुबाहेक अन्य सबै समूहमा सुधार आएको छ । सबैभन्दा बढी होटल ४८ दशमलव ४३, निर्जीवन बिमा २१ दशमलव २८, उत्पादनमूलक १३ दशमलव ५६, विकास बैङ्क १२ दशमलव ०७ अङ्कले बढेको छ । यस्तै, बैङ्किङ ७ दशमलव ७८ अङ्कले बढेको छ भने अरु समूहमा पनि सामान्य सुधार आएको छ ।

नेप्सेमा आज १ सय ६२ कम्पनीका ३ हजार ९ सय ४६ कारोबारबाट १४ लाख २८ हजार २ सय ९२ कित्ता सेयर खरिदबिक्री भई ३६ करोड २८ लाख ३१ हजार १ सय ८७ रुपैयाँबराबरको कारोबार भएको छ, जुन आइतबारको कारोबार रकमभन्दा ४ करोडले कम हो ।

आइतबार नेप्सेमा १ सय ६० कम्पनीका ४ हजार ७ सय ४५ कारोबारबाट १३ लाख ३७ लाख ५ सय २६ कित्ता सेयर किनबेच भई ४० करोड ७५ लाख १ हजार ८ सय ४१ रुपैयाँबराबरको कारोबार भएको थियो ।

सोमबार नेप्सेमा नाडेप लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा बढी ९ दशलव ९६ प्रतिशतले बढेको छ भने मञ्जुश्री फाइनान्सको सेयर मूल्य सबैभन्दा बढी ३ प्रतिशतले घटेको छ । यस्तै आज नेप्सेमा नाडेप लघुवित्तको सबैभन्दा बढी २ सय ३७ पटक कारोबार भएको छ ।