नयाँ थप्नुको साटो पुराना सवारी निस्किँदै, दुर्घटना बढ्ने सङ्केत

यातायात विभागले भोलि बुधबारदेखि देशभर जुनसुकै सवारी जहाँसुकै जान पाउने रुट परमिट खारेज गर्ने घोषणा गरेपछि विभिन्न यातायात कम्पनी तथा व्यवसायीले पुराना थोत्त्रा बस बाहिर निकाल्न सुरु गरिसकेका छन् ।

दसैंमा यात्रा सहज बनाउन नयाँ गाडी थप्नुको साटो बसपार्कमा पुराना बस धमाधम निस्कन थालेका छन् । दसैंका लागि लामो दूरीका सडकमा राजधानीबाट बाहिर जानका लागि वर्षौंदेखि ग्यारेजमा थन्किएका सवारीसाधन रिजर्भ तथा सार्वजनिक यातायातका रुपमा निकालिन थालिएको हो ।

विभिन्न पेसा व्यवसायमा रहेका राजधानीलगायत ठूला सहरका मानिस चाडपर्व मनाउन आफ्नो मूलघर जाने तयारीमा छन् । यस्तै राजधानीमा बस्नेहरु दसैंमा उच्च चाप हुने भन्दै दसैं आउन १५ दिन अगावै बाहिरिने गरेका छन् ।

यातायात विभागले भोलि बुधबारदेखि देशभर जुनसुकै सवारी जहाँसुकै जान पाउने रुट परमिट खारेज गर्ने घोषणा गरेपछि विभिन्न यातायात कम्पनी तथा व्यवसायीले पुराना थोत्त्रा बस बाहिर निकाल्न सुरु गरिसकेका छन् ।

विभागको रुटपर्मिट खारेजलाई व्यवसायीले कैयौं वर्ष थन्किएर बसेका पुराना सवारी निकालेर चलाउने अवसरका रुपमा लिन लागेको यातायात सुधार अभियन्ता रामबहादुर थापाले बताए ।

मङ्गलबार दसैं मनाउन घर जान लागेका सुवराज महतका अनुसार अहिले बसपार्कमा सिसा नभएका, झ्याल टालिएका, थोत्रा, झट्ट हेर्दा २० वर्ष नाघिसकेका बस दसैंमा यात्रु ओसार्न राखिएको बताए ।

चाडपर्वमा राजधानीबाट बाहिरिने मानिसको चाप अत्यधिक हुने, त्यसमाथि पुराना सवारी चलाउँदा दुर्घटना बढ्ने सङ्केत देखिएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक लावण्यकुमार ढकालका अनुसार ट्राफिक महाशाखा, यातायात विभाग र व्यवसायीको समन्वयमा नियममित अनुगमन हुने बताए । ‘हामीले कुनै कसर नराखी दसैंमा यात्रुको चाप र सुरक्षालाई मध्यनजर गर्दै विशेष सुरक्षा मिलाएका छौं,’ उनले भने । विभागले केही दिनअघि कोटेश्वरमा गरिएको अनुगमनमा तोकिएभन्दा बढी भाडा लिएको सवारीलाई कारबाही गरेको उनको भनाइ छ ।

महानगरीय ट्राफिक महाशाखाका एसएसपी वसन्तकुमार पन्तले बढी भाडा लिएर टिकट काट्ने काउन्टरलाई पनि कारबाहीको दायरामा ल्याइरहेको बताए । बसभन्दा पनि माइक्रोले बढी भाडा लिएको गुनासो आउने गरेको भन्दै उनले विशेष सजगता अपनाइएको पन्तको भनाइ छ ।

बसपार्कमा पुराना सवारी निकालेको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखामा पनि आएकाले नयाँ र पुरानो बसपार्कमा सतर्कता अपनाउन निर्देशन दिइएको सहप्रवक्ता दीपेश दाहालले जानकारी दिए ।

राजधानीबाट दसैं मनाउन करिब २५ लाखभन्दा बढी मानिस बाहिरिने गरेका छन् । पुराना सवारीसाधनलाई विशेष निगरानीमा राखेको ट्राफिक प्रहरीको भनाइ छ । विगत वर्षहरुको तथ्याङ्क हेर्दा दसैं अवधिमा धेरैले ज्यान गुमाउने गरेको भेटिन्छ ।

विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बसपार्कबाहेक कोटेश्वर, कलङ्की, जोरपाटी, गौशालालगायतका स्थानमा दसैंको टिकटमा बढी भाडा लिने गरेको गुनासो आएकाले ती क्षेत्रका काउन्टरलाई प्रतिस्थापन गर्ने तयारी भइरहेको बताए । पुराना गाडीको सवालमा काठमाडौं बाहिरका विभिन्न राजमार्गहरुमा रहेका सुरक्षाकर्मीहरुलाई निर्देशन दिइसकिएको हुँदा कुनै समस्या नहुने उनको भनाइ छ ।