तुप्चेमा ५ अर्ब लगानीको विद्युत् आयोजना

तुप्चेमा उत्पादन गृह रहने उक्त जलविद्युत् आयोजनाले त्रिशुली थ्री बीबाट निकास भएको पानीलाई प्रयोग गर्ने छ ।

त्रिशुलीको विदुर नगरपालिका वडा नं ७ तुप्चेमा रु पाँच अर्बको लगानीमा १९.४१ मेगावाट क्षमताको जलविद्युत् परियोजना तयार हुने भएको छ । सो आयोजना पर्फेक्ट इनर्जी डेभलपमेन्ट प्रालिले निर्माण गर्न लागेको हो ।

यसका लागि मध्य त्रिशुली गङ्गा जलविद्युत् आयोजनाले वातावरणीय प्रभाव मूल्याङ्कनसम्बन्धी सार्वजनिक सुनुवाइ गरेको छ । तुप्चेमा उत्पादन गृह रहने उक्त जलविद्युत् आयोजनाले त्रिशुली थ्री बीबाट निकास भएको पानीलाई प्रयोग गर्ने वातावरणीय प्रभाव मूल्याङ्कनमा संलग्न कुमार पौडेलले जानकारी दिए । सार्वजनिक सुनुवाइमा प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले राष्ट्रियरुपमा महत्व राख्ने जलविद्युत् आयोजना सञ्चालन र निर्माण कार्य निर्वाधरुपमा अघि बढ्नुपर्ने बताए । प्रदेश नं ३ का सदस्य हीरानाथ खतिवडाले व्यक्तिगत लाभ, हानि र स्वार्थका कारण यस्ता आयोजनामाथि प्रभाव पार्नु नहुने विचार राखेका थिए ।

इनर्जी डेभलपमेन्ट प्रालिका प्रबन्ध निर्देशक भरतकुमार खड्काले कम लगानीमा बढी आम्दानी हुने आयोजनाका रुपमा यसलाई स्थापित गर्ने बताएका छन् । उत्तरगया धाम क्षेत्र विकास समितिले उक्त परियोजनाले बेत्रावतीमा पानी सुक्ने र त्यसले धार्मिक कार्यमा असर पर्ने भन्दै चर्को आलोचना गर्दै आएको छ । सार्वजनिक सुनुवाइ भइरहेको समयमा क्षेत्र विकास समितिले बेत्रावती बजारमा विरोधसभाको आयोजनासमेत गरेको थियो । तर उत्तरगया धाममा आप्mनो आयोजनाका कारण पानी नसुक्ने निर्देशक खड्काले दाबी गरे । उनले उत्तरगया धाम हुँदै बग्ने त्रिशूली नदीमा कम्तीमा सात हजार लिटर पानी छाडिने प्रतिबद्धता जनाए ।

मध्य त्रिशुली गङ्गा जलविद्युत् आयोजनाले निर्माण चरणमा नै प्रभावित तथा अति प्रभावित क्षेत्रका नागरिकलाई रोजगारीदेखि क्षमताअनुसारको काममा खटाउने प्रतिबद्धता गरेको छ । कार्यक्रममा विदुर नगरपालिकाका प्रमख सञ्जु पण्डित, प्रभावित क्षेत्रका विभिन्न वडाका अध्यक्षहरु, सरोकारवालाहरु, राजनीतिक दलका प्रतिनिधि तथा सङ्घसंस्थाका पदाधिकारीले मन्तव्य र जिज्ञासा राखेका थिए ।