तीव्र उतार चढावबीच २ अङ्कले घट्यो नेप्से

नेप्सेमा वर्गीकृत ११ उपसूचकमध्ये बैङ्किङ समूहसहित ५ उपसूचकमा गिरावट आएपछि त्यसको असर नेप्सेमा देखिएको हो । बैङ्किङ् समूहको कारोबारले नेप्सेमा दुई तिहाइ हिस्सा ओगट्छ ।

सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) १ दशमलव ९८ अङ्कले घटेको छ । बिहान कारोबार सुरु भएदेखि नै उतार चढाव कायम रहेको बजारमा अन्तिम समयमा करिब दुई अङ्कको गिरावट आई बन्द भएको हो । नेप्सेमा वर्गीकृत ११ उपसूचकमध्ये बैङ्किङ समूहसहित ५ उपसूचकमा गिरावट आएपछि त्यसको असर नेप्सेमा देखिएको हो । बैङ्किङ् समूहको कारोबारले नेप्सेमा दुई तिहाइ हिस्सा ओगट्छ ।

कारोबारको सुरुमा बजार बढेको भए पनि विस्तारै घट्न थाल्यो र ५ अङ्कभन्दा तल पुग्यो । तर, फेरि बजारमा सुधारले गति समाए पनि बजारलाई बढाउन पर्याप्त भएन । जसले गर्दा झिनो गिरावट देखियो । यस वर्षको दसैंपछि आइतबार खुलेको बजार करिब ४ अङ्कले बढेको भए पनि सोमबार भने २ अङ्कको गिरावट आएको हो । तर, कारोबार रकम भने आइतबारको तुलनामा सोमबार बढेको छ ।

सोमबार १ सय ४१ कम्पनीको १६ करोड ९८ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । यो कारोबार रकम आइतबारको तुलनामा करिब तीन करोड रुपैयाँले बढी हो । दसैंअघिको अन्तिम कारोबार असोज २९ गते ३३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

सोमबार सबैभन्दा बढी रकमको सेयर कारोबार हुनेमा प्रभु बैङ्क रहेको छ । विगत केही समयदेखि सेयर कारोबारमा अग्रता लिएको प्रभुको सोमबार ३ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । प्रभुको आइतबार पनि ३ करोड १६ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो ।

सोमबार बैङ्किङ १ दशमलव ७१, व्यापार १ दशमलव ६९, निर्जीवन बिमा २८ दशमलव ७५, उत्पादनमूलक तथा प्रशोधन समूह ६२ दशमलव शून्य ६, जीवन बिमा सूचक १८ दशमलव ७६ अङ्कले घटेको छ । तर, यसदिन होटल २१ दशमलव ९४, विकास बैङ्क ७ दशमलव १४, जलविद्युत् १ दशमलव ९२, वित्त शून्य दशमलव ३२, लघुवित्त १ दशमलव ४९ र अन्य समूह शून्य दशमलव शून्य ३ अङ्कले बढेको छ ।