सोमबार सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थलमा एअर डाइनेस्टीको हेलिकप्टर ल्यान्ड गर्ने क्रममा माउन्टेनको टेल रोटरलाई लच्चाएको थियो ।
हेलिप्याडमा ल्यान्ड गर्ने बेला माउन्टेन एयरको हेलिकप्टरमा पुगेको क्षतिको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले छानबिन सुरु गरेको छ । सोमबार सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थलमा एअर डाइनेस्टीको हेलिकप्टर ल्यान्ड गर्ने क्रममा माउन्टेनको टेल रोटरलाई लच्चाएको थियो ।
क्यानका उपमहानिर्देशक राजन पोखरेलले घटनाको छानबिनका लागि प्राविधिक टोली लुक्ला गइसकेको जानकारी दिए । उनले दुई हेलिकप्टर कसरी ठोक्किएका हुन् भन्ने विषयमा प्राविधिकहरुले आवश्यक छानबिन गरेपछि दोषीलाई कार्वाही हुने बताए । प्राविधिक टोलीले स्थलगत अध्ययन गरेपछि उनीहरुको प्रतिवेदनका आधारमा कार्वाही प्रक्रिया अगाडि बढाउने उपमहानिर्देशक पोखरेलको भनाइ छ । सोमबार ११ः३० बजे माउन्टेनको हेलिकप्टरमा क्षति पुगेको थियो ।
क्यानका अनुसार खुम्बुक्षेत्र प्रवेश गर्ने मुख्य मार्ग भएकाले तेन्जिङ हिलारी विमानस्थल, लुक्लामा जहाज र हेलिकप्टर गरी दैनिक एक सय २५ र मासिक दुई हजार पाँच सय १४ ओटासम्म उडान हुने गरेको छ । सो विमानस्थलको क्षमताभन्दा धेरै हेलिकप्टर अवतरण हुने गरेको स्थानीयहरुको भनाइ छ । साँघुरो विमानस्थलमा क्यानले पाँच ओटासम्म हेलिकप्टर एकै पटक अवतरण गर्ने अनुमति दिएको छ ।