दस महिनाभित्र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने

साझा यातायातले मङ्गलबारबाट सुरु गरेको विद्युतीय बसको शुभारम्भ कार्यक्रममा बोल्दै पर्यटनमन्त्री अधिकारीले गौतम बुद्ध विमानस्थलको काउन्टडाउन सुरु भएको बताए । विमानस्थल सञ्चालनमा आएपछि भमण वर्ष २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउन सहज हुने उनको भनाइ छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले आगामी १० महिनाभित्र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसक्ने बताएका छन् । भैरहवामा निर्माण भइरहेको सो विमानस्थलको काम अन्तिम चरणमा पुगिसकेकाले १० महिनाभित्रै सञ्चालनमा आइसक्ने मन्त्री अधिकारीको भनाइ छ ।

साझा यातायातले मङ्गलबारबाट सुरु गरेको विद्युतीय बसको शुभारम्भ कार्यक्रममा बोल्दै पर्यटनमन्त्री अधिकारीले गौतम बुद्ध विमानस्थलको काउन्टडाउन सुरु भएको बताए । विमानस्थल सञ्चालनमा आएपछि भमण वर्ष २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउन सहज हुने उनको भनाइ छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो चरणमा साना र ठूला गरी ५ ओटा जहाज अट्ने क्षमता छ । विमानस्थलका निमित्त आयोजना प्रमुख प्रवेश अधिकारीले १० महिनाभित्रै सञ्चालनमा ल्याउनका लागि तीव्र गतिमा काम भइरहेको बताए । धावन मार्गमा पिचको काम दसैंअघि नै गर्ने भनिए पनि केही प्राविधिक कारणले ढिला भएको भन्दै उनले तिहारअघि सुरु गर्ने गरी आवश्यक काम अघि बढिरहेको बताए ।

विमानस्थल तीन हजार मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग, एक हजार नौ सय मिटर लम्बाइ र २३ मिटर चौडाइको ट्याक्सी वे बन्ने निमित्त प्रमुख अधिकारीले जानकारी दिए । त्यसैगरी अन्तर्राष्ट्रियतर्फ चार ओटा र आन्तरिकतर्फ दुइटा पार्किङ वे निर्माण गर्ने गरी काम भइरहेको उनको भनाइ छ । यस्तै हाल सञ्चालनमा रहेको एक हजार पाँच सय मिटरको रनवेलाई ट्याक्सी वेमा परिणत गर्ने तयारी भइरहेको छ ।

विमानस्थलको निर्माण कार्य चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्टले ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २८ रुपैयाँमा गरिरहेको छ ।