जे जे कारणले बजार घट्यो भनेर कोकोहोलो गरेर भ्रम फैलाउन खोजिएको थियो, ती कुनै पनि विषयको समाधान आइसकेको छैन । त्यसैले लगानीकर्ता सेयर खरिदबिक्रीमा निकै नै चतुर हुनुपर्ने देखिएको छ । लगानीकर्ताले सानो मात्रै गल्ती गरे भने त्यसले भविष्यमा पछुताउनुपर्ने हुन सक्छ, किनभने चलखेल गर्नेहरूले यस्तै मौकाबाट फाइदा उठाउने हुन् ।
मङ्सिर अन्तिमबाट निरन्तर ओरालो लागेको नेपालको सेयर बजार अङ्ग्रेजी नयाँ वर्षसँगै तीव्र उकालो लागेको छ । करिब ३ सातादेखि घट्दो ट्रेन्डमा देखिएको बजार सन् २०१८ को पहिलो दिन जनवरी १ मा बिनाकारण उकालो लागेको छ । सोमबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४४.२२ अङ्क (३.१८ प्रतिशत)ले बढेर १४३४.८० अङ्कमा चढेको छ । यसअघि आइतबार २४.२० अङ्क (१.७१ प्रतिशत)ले घटेर १३९०.५८ अङ्कमा रोकिएको थियो । कारोबारको सुरुवातीमा समयमा बढेको नेप्से मध्य समयतिर फेरि खस्किन थालेको थियो । तर अन्तिम समयमा भने नेप्से निरन्तर बढ्दा ठूलो वृद्धि हुन पुगेको छ ।
त्यसो त विगतमा निरन्तर बजार घट्नुमा पनि उल्लेख्य कारण भने केही थिएनन् । विगतमा सेयर बजार घटिरहँदा घट्नुमा कारण जेजे दिइन्थ्यो, त्यसमा कुनै सुधार देखिएको छैन । त्यसमाथि सूचीकृत अधिकांश कम्पनीको चालू वर्षको साधारणसभा सकिएको÷सकिने क्रममा रहेको र उनीहरूले लाभांश दिइसकेकाले तुरन्तै ती कम्पनीबाट लाभांश आस गर्ने अवस्था पनि छैन । त्यसैगरी चालू वर्षको ६ महिनाको अनुमानित कर तिर्ने समय पनि नजिकिँदै गएको र त्यसको पनि म्याद कटिसकेको छैन । सेयर बजार घट्दा ‘मार्जिन कल’मा परेको प्रभाव पनि उस्तै छ । त्यस्तै, सेयर दलालको कमिसनमा लगाइएको मूल्य अभिवृद्धि करसम्बन्धी विषय टुङ्गो लागिसकेको छैन ।
मङ्सिर १० र २१ को आमनिर्वाचनपछि सरकार कस्को नेतृत्वमा र कहिले बन्दै छ भन्ने अझै टुङ्गो लागेको छैन । बजार ब्याजदर बढ्ने क्रम अझै रोकिएको छैन । निक्षेपमा १३.२ प्रतिसतसम्म पुगेको ब्याजदरमा बैङ्करहरूले अनौपचारिक रूपमा १२ प्रतिशतभन्दा बढी नदिने भन्ने भद्र सहमति गरेको भने पनि त्यसले समस्याको निकास दिँदैन । अर्कोतिर बैङ्करहरूले लगानीयोग्य रकम (तरलता) अभाव हटाउन सरकार र नेपाल राष्ट्र बैङ्कसँग हारगुहार गरे पनि केन्द्रीय बैङ्कले आफू (बैङ्क)सँग भएको ऋणपत्र धितो राखेर पैसा लिन भनेकोबाहेक यक्ष समाधान दिएको छैन । सरकारले गर्ने पुँजीगत खर्चको स्थिति उस्तै छ । विदेशमा काम गर्ने कामदारहरूले पठाउने रेमिटेन्स (विप्रेषण आप्रवाह)मा खासै वृद्धि देखिएको छैन ।
सोमबार नेप्सेमा वर्गीकृत १० ओटा समूह परिसूचकमध्ये अन्य समूह (०.८७ अङ्कले) घटेकोबाहेक अरू सबै उपसूचकहरूमा वृद्धि आएको छ । सबैभन्दा बढी बिमा समूह २७०.८ अङ्क र होटल १११.५७ अङ्कले बढेको छ । नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भए पनि कारोबार रकममा भने कमी आएको छ । सोमबार ५ हजार १ सय ६७ कारोबारबाट ११ लाख ३२ हजार ५८ कित्ता सेयर किनबेच भई ४९ करोड ४३ लाख १७ हजार २ सय ११ रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ । आइतबार ५ हजार ४ सय ८४ कारोबारबाट १८ लाख २५ हजार १ सय ८२ कित्ता सेयर खरिदबिक्री भई ५८ करोड ७८ लाख २६ हजार ८ सय १० रुपैयाँबराबरको सेयर किनबेच भएको थियो । सोमबार सबैभन्दा बढी कारोबार स्ट्यान्डर्ड चार्टर्ड बैङ्कको २ करोड ८८ लाख ६२ हजार ६६ रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ ।