दुई अङ्कले घटेको नेप्से ८ अङ्क बढ्यो

१ हजार २ सय ४१ अङ्कबाट सुरु भएको सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८ दशमलव ९ अङ्क बढेर १ हजार २ सय ४९ दशमलव ९३ अङ्क कायम भएको छ ।

कारोबार सुरु भएदेखि घट्न सुरु गरेको सेयर बजार बुधबार दुई अङ्क घटेपछि सुधारिँदै ८ अङ्क बढेर बन्द भएको छ । १ हजार २ सय ४१ अङ्कबाट सुरु भएको सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८ दशमलव ९ अङ्क बढेर १ हजार २ सय ४९ दशमलव ९३ अङ्क कायम भएको छ ।

पञ्चकन्यामाई हाइड्रोपावर कम्पनीको सेयर मूल्य सबैभन्दा बढी ५ दशमलव ८३ प्रतिशत बढेको दिन आज सेन्चुरी कर्मसियल बैङ्कको सेयर मूल्य सबैभन्दा बढी ५ दशमलव ०६ प्रतिशतले घटेको छ । बुधबार नेप्सेमा १ सय ५२ कम्पनीका ३ हजार ७ सय ७० कारोबारबाट ८ लाख ९१ हजार ६ सय ९ कित्ता सेयर किनबेच भई २३ करोड २८ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।

यसअघि साताका अघिल्ला दुई दिन सेयर बजार घटेको थियो । सोमबार दुई अङ्कले तथा मङ्गलबार तीन अङ्कले घटेको थियो । मङ्गलबार नेप्सेमा १ सय ५५ कम्पनीका आठ लाख ४२ हजार १९८ कित्ता सेयर १९ करोड ८७ लाख ७५ हजार ८३४ रूपैयाँमा खरिद बिक्री भएका थिए ।

आज नेप्सेमा कारोबार भएका सबै १० समूहमा सुधार आएको छ । जसमध्ये सबैभन्दा बढी होटल ७० दशमलव ६९, निर्जीवन बिमा ६१ दशमलव १६, जीवन बिमा ४० दशमलव ११ तथा उत्पादनमूलक समूह २० दशमलव १९ अङ्कले बढेको छ । व्यापार समूहको कारोबार नभएको दिन आज अरु सबै समूहमा सामान्य अङ्कको सुधार आएको छ ।

कारोबार सुरु भएदेखि घट्न थालेको नेप्से परिसूचक दुई बजेसम्म ओरालो अवस्थामा थियो । त्यसपछि एकाएक सुधार आउँदै बजारले विस्तारै गति लिँदै ७ अङ्क सुधार भएको हो ।