पदमार्ग निर्माण

विकास नेपाल बेल्जियमको आर्थिक सहयोगमा कालीपुलदेखि डिलफाँट हुँदै मल्लाजको ऐतिहासिक धार्मिक पर्यटकीयस्थल भगवती कोत मन्दिर परिसरसम्म करिब दुई किलोमिटर पदमार्ग निर्माण भएको हो ।

म्याग्दीकाे बेनी नगरपालिका–८ कालीपुलदेखि जलजला गाउँपालिका वडा नं २, ३ र ४ मा पर्ने मल्लाज जोड्ने पक्की पदमार्ग निर्माण भएको छ ।

विकास नेपाल बेल्जियमको आर्थिक सहयोगमा कालीपुलदेखि डिलफाँट हुँदै मल्लाजको ऐतिहासिक धार्मिक पर्यटकीयस्थल भगवती कोत मन्दिर परिसरसम्म करिब दुई किलोमिटर पदमार्ग निर्माण भएको हो ।

पाँच वर्षअघि कालीपुलदेखि सुरु भएको पदमार्ग निर्माणले यस वर्ष पूर्णता पाएको डिलफाँट–कोतघर पदमार्ग उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर बरुवालले बताए । तीन चरणमा ८६ लाख नौ हजार २५२ रूपैयाँको लागतमा एक हजार ९५२ मिटर पक्की पदमार्ग निर्माण भएको अध्यक्ष बरुवालले जानकारी दिए ।

संस्थाको ५९ लाख ८६ हजार ३५२ रूपैयाँ सहयोग र स्थानीयवासीको १७ लाख ३३ हजार ७७७ रूपैयाँको लागतमा तीन वर्षअघि कालीपुलदेखि डिलफाँटसम्म पदमार्ग निर्माण भएको थियो ।

यस वर्ष संस्थाको थप छ लाख ३३ हजार र स्थानीयवासीको दुई लाख ७६ हजार ७५१ रूपैयाँको लगानीमा ३०० मिटर पदमार्ग बनाएर कोतघर परिसरमा पुर्याइएको हो । साविक माझफाँट गाविस र वडाले पनि डिलफाँटदेखि कोतघरतर्फ ३०० मिटर पदमार्ग निर्माण गरेका थिए ।

पदमार्ग निर्माण भएपछि बेनीबजारका साथै बगरफाँट वारिबेनी, जलजला गाउँपालिकाको बाँसखर्क, मल्लाज, लेकफाँट, म्याग्दीको नागीका बासिन्दालाई आवतजावतमा सहज भएको छ ।

यसअघि भीरको साँघुरो बाटोमा जोखिम मोलेर आवतजावत गर्दै आएका स्थानीयवासीले अहिले सुरक्षित रूपमा हिँडडुल गर्न पाएको मल्लाजका नविन जिसीले बताए । रासस