बोर्ड भन्छ– वित्तीय विवरणपछि मात्रै आईपीओ

जलविद्युत् कम्पनीले एकपछि अर्को साधारण सेयर (आईपीओ) जारी गर्ने तयारी गरिरहेका बेला नेपाल धितोपत्र बोर्डले वित्तीय अवस्थाका बारेमा नागरिकले थाहा पाउने गरी सूचना दिन सम्बन्धित पक्षलाई निर्देशन दिएको छ ।

आर्थिक समस्यामा रहेका जलविद्युत् कम्पनीले पनि नागरिकलाई भ्रममा राखेर साधारण सेयर जारी गर्ने प्रवृत्ति बढेपछि बोर्डले आयोजनामा लगानी भएको रकमको नाफा के कति समयमा हुने हो र त्यसको आधार के हुने भन्नेबारेमा जानकारी दिन निर्देशन दिएको हो । यसैगरी आयोजनाको प्रतिमेगावाट लागत, विद्युत् उत्पादन अनुमतिको बाँकी अवधि, लगानी फिर्ता हुने अवधिका बारेमा पनि प्रस्ट जानकारी दिन भनेको छ । विभिन्न १६ ओटा जलविद्युत् कम्पनीले साधारण सेयर जारी गर्ने तयारी गरिरहेका बेला बोर्डले यस्तो निर्देशन दिएको हो ।

बोर्डका प्रवक्ता नीरज गिरिका अनुसार जलविद्युत् कम्पनीले सञ्चालन अवधि तीन वर्ष व्यतित भइसकेको अवस्थामा विगत तीन वर्षको र तीन वर्ष व्यतित भइनसकेको अवस्थामा सञ्चालन अवधिभरको लेखापरीक्षण भएको वित्तीय विवरणबमोजिम प्रतिसेयर खुद सम्पत्ति, प्रतिसेयर आम्दानीका बारेमा जानकारी दिन भनेको हो । सरकारले स्थानीय प्रभावितलाई १० प्रतिशत र आमनेपालीलाई १५ प्रतिशत साधारण सेयर दिनुपर्ने बाध्यकारी व्यवस्था गरेपछि जलविद्युत् आयोजनाले सेयर दिने प्रचलन बढेको छ ।