थाइल्यान्डका सबै विमानस्थलमा उडान भर्न पाउनु पर्ने नेपालको प्रस्ताव

नोभेम्बर १ र २ मा हुन लागेको नेपाल र थाइल्यान्डबीच हवाई सम्झौता पुनरवलोकनमा नेपालबाट जाने जुनसुकै जहाजले त्यहाँका विमानस्थलमा अवतरण गर्न पाउने गरी प्रस्ताव पठाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए ।

नेपालले थाइल्यान्डका सबै विमानस्थलमा उडान भर्न पाउनु पर्ने प्रस्ताव थाइल्यान्डसँग अघि सारेको छ । नोभेम्बर १ र २ मा हुन लागेको नेपाल र थाइल्यान्डबीच हवाई सम्झौता पुनरवलोकनमा नेपालबाट जाने जुनसुकै जहाजले त्यहाँका विमानस्थलमा अवतरण गर्न पाउने गरी प्रस्ताव पठाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए ।

मन्त्रालयमा बुधबार थाइल्यान्डसँगको सम्झौताको विषयमा मन्त्री रवीन्द्र अधिकारीसँग सहसचिव लामिछाने र सुरेशप्रसाद आचार्यले रणनीतिक बैठक बसी ब्रिफिङ गरेका थिए ।

सन् १९७१ पछि पहिलो पटक हुन लागेको हवाई सम्झौता पुनरवलोकनमा नेपालको तर्फबाट दैनिक ३ पटक र सातामा २१ देखि ४२ पटकसम्म उडान भर्न पाउनु पर्ने लगायतका बुँदामा द्विपक्षीय छलफल केन्द्रित हुने सहसचिव लामिछानेले बताए । ‘नेपालका तर्फबाट हवाई सम्झौता पुनरवलोकनका लागि मस्यौदा पठाइसकिएको छ, नेपाली टोली थाइल्यान्ड गएपछि अरु प्रक्रिया अघि बढ्छ,’ उनले भने ।

यस्तै थाइल्यान्डले पनि काठमाडौं बाहिर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उडान गर्नेगरी सम्झौताको तयारी भएको छ । अबको १० महिनाभित्र सञ्चालनमा आउने सो अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्नका लागि सम्झौता हुन सक्ने मन्त्रालयले जनाएको छ । यसअघि दुई देशबीच सातामा १० ओटासम्म उडान भर्न पाउने सम्झौता भएको थियो ।

अहिले थाइल्यान्डका थाइ एयरवेज र थाइलायन एयरलाइन्सले नेपालमा उडान गरिरहेका छन् भने नेपालबाट नेपाल एयरलाइन्सले उडान गरिरहेको छ । यस्तै हिमालय एयरलाइन्सले पनि उडान गर्नका लागि प्रक्रिया अगाडि बढाएको छ । ४७ वर्षपछि हुन लागेको हवाई सम्झौता पुनरवलोकनका लागि मन्त्रालयका सहसचिव सुरेश आचार्यको नेतृत्वमा ५ सदस्यीय टोली थाइल्यान्डमा जान लागेका छन् । नेपालले हालसम्म ३८ देशसँग हवाई सम्झौता गरेको छ ।

भ्रमण वर्ष २०२० मा सरकारले २० लाख पर्यटक नेपाल भित्र्याउने तयारी गरिरहेका बेला थाइल्यान्डसँग हुन लागेको हवाई सम्झौता पुनरवलोकनले नेपालको पर्यटन क्षेत्रमा ठूलो टेवा पुग्ने ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का महासचिव आङ्पेम्बा शेर्पाको भनाइ छ । थाइल्यान्डमा धेरै बुद्ध धर्मावलम्बी रहेका कारण उनीहरुको गतिलो गन्तव्यका रुपमा लुम्बिनी हुन सक्ने उनले बताए ।