वायुसेवा सञ्चालक सङ्घमा रहेका हेलिकप्टर सञ्चालकहरुले हेलिकप्टर व्यवसायलाई व्यवस्थित बनाउनका लागि सिम्रिक एयरका अध्यक्ष क्याप्टेन रामेश्वर थापाको अध्यक्षतामा सोसाइटी गठन गरेका थिए ।
हेलिकप्टर सोसाइटी अफ नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हेलिप्याडमा रहेका पुराना जहाज तत्काल हटाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)सँग माग गरेको छ । हेलिकप्टर सञ्चालकहरुले हालै गठन गरेको सोसाइटीका बारेमा क्यानलाई जानकारी गराउँदै विभिन्न सुझाव तथा माग राखेको हो ।
वायुसेवा सञ्चालक सङ्घमा रहेका हेलिकप्टर सञ्चालकहरुले हेलिकप्टर व्यवसायलाई व्यवस्थित बनाउनका लागि सिम्रिक एयरका अध्यक्ष क्याप्टेन रामेश्वर थापाको अध्यक्षतामा सोसाइटी गठन गरेका थिए ।
सोसाइटीले क्यानका उपमहानिर्देशक राजन पोखरेलसँग भेट गरी हेलिकप्टर सञ्चालनका लागि पूर्वाधार निर्माण गर्नुपर्ने, निषेधित क्षेत्रको समस्या समाधान गर्नुपर्ने, हेलिकप्टर सञ्चालनका लागि हेलिप्याड क्षेत्रमा अफिसियल सुविधा नदिएकोमा ध्यान दिनुपर्ने, हेली लेन बनाउनु पर्ने, क्यानको निर्देशिकाअनुसार लुक्ला, हिल्सा, गोराशपमा हेलिप्याड निर्माण गर्नुपर्ने, प्रत्येक वडामा हेलिप्याड बनाउन बजेट छुट्याउनु पर्ने, फेक रेस्क्युको समस्या समाधान गर्ने लगाएयतका विषयमा सुझाव र माग राखेका थिए ।
क्यानका उपमहानिर्देशक पोखरेलले सोसाइटीले अघि सारेका समस्याहरुको समाधानका लागि आवश्यक समन्वय गर्न तयार रहेको बताए । ‘हेलिकप्टर सोसाइटीसँग हवाई सुरक्षाका विषयमा पनि छलफल भयो,’ उनले भने । हेलिकप्टरहरुको छुट्टै संस्था भएकाले काम गर्न पनि अब सजिलो हुने उनले बताए ।
सोसाइटीका महासचिव योगराज कँडेलले हेलिकप्टर व्यवसायमा रहेका समस्याका विषयमा क्यानलाई जानकारी गराएको बताए । ‘यो व्यवसायमा रहेका समस्या जानकारी गराउँदै समाधानका लागि छलफल भयो,’ उनले भने । आगामी दिनमा क्यानसँग मिलेर गर्नुपर्ने काम र हेलिकप्टर व्यवसायलाई अझै व्यवस्थित बनाउन मिलेर जाने विषयमा योजना पनि बनाउने उनले बताए ।
हेलिकप्टर सोसाइटीका अध्यक्ष रामेश्वर थापालगायतका पदाधिकारीहरु गएका थिए । सोसाइटीमा वरिष्ठ उपाध्यक्षमा एयर डाइनेष्टीका आङ्गछिरिङ शेर्पा, उपाध्यक्षमा मनाङ एयरका सतिशप्रसाद प्रधान, महासचिवमा हेली एभरेष्टका योगराज कँडेल र कोषाध्यक्षमा हेली एभरेष्टकै जनक थापा छन् । त्यसैगरी प्रभु हेलिकप्टरका विनोद थकाली, श्री एयरलाइन्सका अनिल मानन्धर, अल्टिच्युड हेलिकप्टरका निमानूरु शेर्पा कार्य समिति सदस्य छन् ।