नयाँ जहाजबाट एनएसीलाई एक अर्ब रुपैयाँ घाटा

एनएसीले बनाएको व्यावसायिक योजनाअनुसार जहाज नउडेपछि निगमलाई हालसम्म एक अर्ब रुपैयाँभन्दा बढी नोक्सान भएको संस्कृति, पर्यटन तथा नगारिक उड्डयन मन्त्रालय स्रोतले बताएको छ ।

तीन महिनाअघि आएको दुई ओटा नयाँ जहाज (वाइडबडी)बाट नेपाल वायु सेवा निगम (एनएसी) लाई हालसम्म एक अर्ब रुपैयाँ नोक्सान भइसकेको छ ।

एनएसीले बनाएको व्यावसायिक योजनाअनुसार जहाज नउडेपछि निगमलाई हालसम्म एक अर्ब रुपैयाँभन्दा बढी नोक्सान भएको संस्कृति, पर्यटन तथा नगारिक उड्डयन मन्त्रालय स्रोतले बताएको छ ।

‘लङ रुट’मा उडाएर नाफा कमाउने उद्देश्यले ल्याइएको वाइडबडी जहाज व्यावसायिक प्लानअनुसार उडेको छैन,’ एक उच्च अधिकारीले भने, ‘धमाधम उड्नुपर्ने जहाज नउड्दा एनएसीलाई मासिक ३१ करोड रुपैयाँ नोक्सान हुँदै आएको छ ।’

‘लङ रुट’मा उडाउन ल्याइएका दुई ओटा वाइडबडी जहाज न्यारोबडी उड्ने देशमा उडिरहेका छन्,’ स्रोतले भन्यो, ‘ती देशमा जहाज उडाउँदा तेलमा लाग्ने खर्च समेत उठ्दैन । जहाजको इन्स्योरेन्स, पाइलटको तलब तथा नागरिक लगानीकोष र सञ्चय कोषबाट लिइएको ऋणको ब्याज तिर्न ग्राउन्ड ह्यान्डलिङबाट आएको पैसा प्रयोग भएको छ ।’

निगम स्रोतका अनुसार २ सय ७४ सिट क्षमताको एयरबस ‘ए३३०’मा पूरा यात्रु लिएर दिल्ली उड्दा पनि जहाजमा प्रयोग हुने तेलको खर्च समेत उठ्न सक्दैन । अहिले हङ्कङ, थाइल्यान्ड, कतार, दिल्लीलगायतका ठाउँमा वाइडबडी जहाज उडिरहका छन्, जहाँ न्यारोबडीले नै सेवा दिइरहेको छ ।

एनएसीले बनाएको व्यावसायिक प्लानअनुसार नयाँ जहाज अस्ट्रेलिया, जापान, साउदी अरब र दक्षिण कोरिया उड्नुपर्ने हो । जहाज आएको तीन महिना बितिसक्दा पनि व्यावसायिक योजनामा राखिएका कुनै पनि देश उड्न सकेका छैनन् । लामो दूरीमा नउड्दासम्म जहाज निरन्तर घाटामा जाने निगम स्रोतले बताएको छ ।

एनएसीका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले नयाँ जहाजबाट घाटा नभएको बताए । ‘व्यावसायिक योजनाअनुसार जहाज उड्न नसकेको कुरा सत्य हो,’ उनले क्यापिटल नेपालसँग कुराकानी गर्दै भने, ‘तर, घाटामा गएको छैन, न्यारोबडी उडेका ठाउँमा वाइडबडी जहाज उडिरहेका छन् ।’ ‘अहिले जति घण्टा उडिरहेका छन् त्योभन्दा बढी घण्टा जहाज उडनुपर्छ,’ उनले भने, ‘त्यसका लागि हामी प्रयत्नरत छौं ।’

निगम स्रोतका अनुसार वाइडबडी खरिद गर्न लिइएको ऋणको ब्याज, जहाजको इन्स्योरेन्स र पाइलटको सेवा सुविधा ग्राउन्ड ह्यान्डलिङबाट आएको पैसाले भुक्तानी भइरहेको छ । अहिले पनि निगम सञ्चालन गर्न ग्राउन्ड ह्यान्डलिङ प्रमुख स्रोत भइरहेको छ ।

कंसाकारका अनुसार जापान, अस्ट्रेलिया, दक्षिण कोरिया, साउदी अरबलगायतका देशमा एओसी लिनका लागि प्रक्रिया थालिएको छ । ‘अहिलेसम्म कुनै पनि देशबाट एओसी पाइएको छैन,’ उनले भने, ‘एओसी नपाएकै कारण न्यारोबडी जहाज उडेकै देशमा वाइडबडी उडाइएको हो ।’