पूर्व पर्यटनमन्त्री पोखरेल भन्छन्– ‘भ्रमण वर्ष २०२०’को संयोजक तोक्न किन ढिलाइ ?

भ्रमण वर्ष सुरु हुन अब केही महिना मात्र बाँकी रहँदा पनि राष्ट्रिय संयोजक तोक्न नसक्नु पर्यटन मन्त्रालयको कमजोरी भएको पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलको भनाइ छ ।

पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले भ्रमण वर्ष २०२० को राष्ट्रिय संयोजक तोक्न ढिलाइ भएको बताएका छन् । भ्रमण वर्ष सुरु हुन अब केही महिना मात्र बाँकी रहँदा पनि राष्ट्रिय संयोजक तोक्न नसक्नु पर्यटन मन्त्रालयको कमजोरी भएको उनको भनाइ छ ।

आफु पर्यटन मन्त्री रहदा नै सन् २०१७ लाई घुमफिर बर्ष र २०१८ लाई अन्तर्राष्ट्रिय भ्रमण बर्ष को रुपमा मनाउने र २०२६ भित्र मा ३० लाख पर्यटक नेपाल भित्र्याउने कार्यक्रम सार्वजनिक गरेको बताउदै नयाँ सरकारले त्यसलाई परिमार्जन गरी २०२० लाई भ्रमण वर्षको रुपमा मनाउने तयारी गरेकोमा खुसी व्यक्त गरेका छन् । २० लाख पर्यटक भित्र्याउन अहिलेकै पूर्वाधारले सम्भव रहेको बताउँदै त्यसका लागि आक्रामक प्रचारप्रसारको आवश्यकता भने रहेको बताएका छन् ।

भ्रमण वर्षको आयोजक समिति गठन गरी आधाभन्दा बढी काम गरिसक्नुपर्ने अवस्थामा मन्त्रालयले ढिलाइ गरेको उनको भनाइ छ । धेरै मान्छेहरु घुम्नका लागि अन्य देशमा जाने गरेका कारण ती देशहरुबाट केहि प्रतिशत मात्र नेपालमा ल्याउन सके पर्यटन क्षेत्रले ठूलो फड्को मार्ने उनको तर्क छ ।

पर्यटन मन्त्रालयले भदौ महिनाभित्रै राष्ट्रिय संयोजक चयन गरिसक्ने बताए पनि हालसम्म तोक्न सकेको छैन । निजी क्षेत्रले पनि तत्काल राष्ट्रिय संयोजक चयन गरी विभिन्न कार्यक्रम सार्वजनिक गर्न माग गर्दै आएका छन् । होटल एसोसिएसन अफ नेपाल (हान)का महासचिव विनायक शाहले भ्रमण वर्ष मनाउने योजना बनाए पनि सरकारले निजी क्षेत्रसँग हालसम्म कुनै समन्वय नगरेको बताए । आयोजक समिति नै पूर्णरुपमा गठन नभएको उनको भनाइ छ ।

पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले एक साताभित्र राष्ट्रिय संयोजक चयन भइसक्ने बताए । राष्ट्रिय संयोजक चयनका लागि मन्त्रालयले आवश्यक गृहकार्य अघि बढाइरहेको बताउँदै उनले तत्कालै समितिले पूर्णता पाउने बताए ।

भ्रमण वर्ष २०२० को राष्ट्रिय संयोजकका लागि पाँच पर्यटन व्यवसायीको नाम चर्चामा छ । पर्यटन मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय संयोजकमा आरआर पान्डे, योगेन्द्र शाक्य, सुमन पाण्डे, सिर्जना राणा र प्रशिद्ध पाण्डेको नाममा चर्चामा छ । भिजिट नेपाल २०२० का लागि चौध महिना मात्र बाँकी छ । अहिले पर्यटन मन्त्रालयले अर्थ मन्त्रालयमार्फत् भिजिट नेपालका लागि १० करोड रुपैयाँ बजेट निकासा गरिसकेको छ ।

अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गर्नका लागि भिजिट नेपालको लोगो विभिन्न अन्तर्राष्ट्रिय भाषामा सार्वजनिक भइसकेको छ ।