ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशन (गेट कलेज) को आठौँ दीक्षान्त समारोहमा पर्यटन क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले पर्यटन क्षेत्रमा व्यापक रोजगारीका अवसरहरू सिर्जना हुँदै गएको भए पनि अझै दक्ष जनशक्तिको अभाव खड्किएको बताएका हुन् ।
सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित सरकारले सञ्चालन गर्न लागेको नेपाल भ्रमण वर्षलाई सफल पार्न दक्ष र सीपयुक्त शिक्षित होटल व्यवस्थापनका जनशक्ति आवश्यक पर्ने सम्बद्ध विज्ञहरूले औँल्याएका छन् ।
ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशन (गेट कलेज) को आठौँ दीक्षान्त समारोहमा पर्यटन क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले पर्यटन क्षेत्रमा व्यापक रोजगारीका अवसरहरू सिर्जना हुँदै गएको भए पनि अझै दक्ष जनशक्तिको अभाव खड्किएको बताएका हुन् ।
अन्तराष्ट्रिय पर्यटन शिक्षाविद् डा बर्न भान वाल्विकले २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई सार्थक तुल्याउन होटल व्यवस्थापनमा दक्ष जनशक्तिको आवश्यकता भएको बताए । उनले भने, “भर्खरै मात्र लोन्लीप्लानेटले काठमाडौँलाई विश्वकै घुम्नै पर्ने शहरभित्र समेटेको छ, हिल्टन ग्रुपले विश्वभरि नै आफ्ना नयाँ होटलहरू खोल्दैछ, हिल्टनजस्ता अरू थुप्रै पाँचतारे होटल नेपालमा पनि खुल्नेछन् त्यतिखेर यहाँ नै पर्याप्त दक्ष जनशक्तिको खाँचो हुनेछ ।”
स्विजरल्याण्डको स्विस होटल एशोसिएशन होटलरी स्विसका सञ्चार तथा बजारीकरण प्रमुख प्याट्रिक स्कोनबर्गले विश्वभरि नै पर्यटनसँग सम्बन्धित दक्ष जनशक्तिको माग बढ्दै गएको अवस्थामा यहाँ उत्पादित दक्ष जनशक्तिले स्वदेशमा मात्र नभई विदेशमा समेत उत्तिकै अवसर पाउने बताए । नेपालका लागि स्विजरल्याण्डका राजदूत एजिलावेथ भान कप्लरले नेपालको पर्यटन र समग्र विकासका लागि स्विजरल्याण्डले ६० को दशकदेखि नै सहयोग गर्दै आउनुका साथै गेट कलेजले पनि नेपालमा अन्तर्राट्रियस्तरको पर्यटन शिक्षा प्रदान गर्दै आएको चर्चा गरिन् ।
गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाईंले विश्व पर्यटन बजारमा प्रतिस्पर्धात्मक रूपमा उभ्याउन सक्ने गरी आफूहरूले जनशक्ति उत्पादनमा जोड दिँदै आएको बताए । दीक्षान्त समारोहमा १५औँ र १६औँ ब्याचका ९७ विद्यार्थी दीक्षित भएका गेट कलेजले जनाएको छ । उक्त कलेजमा हालसम्म नेपालभित्रबाहेक १९ मुलुकबाट करीब ४०० विद्यार्थीले होटल व्यवस्थापनको स्नातक तह अध्यययन गरिसेकेका छन् । रासस