वैदेशिक रोजगारमा ठगी बढ्यो, म्यानपावरलाई कारवाही हुँदैन

विभागले कुनै कारवाही नगर्दा संस्थागत उजुरीको सङ्ख्या पनि बढ्दै गएको छ । व्यक्तिगत ठगीभन्दा म्यानपावरले ठगेको उजुरी विभागमा धेरै छन् ।

सरकारले जति नै नियमन र कडाई गरेपनि वैदेशिक रोजगारी क्षेत्रमा हुने ठगीमा कमी आएको छैन । आर्थिक वर्ष २०७४÷२०७५ को मंसिरसम्म वैदेशिक रोजगार विभागमा ९ सय १५ ओटा ठगीका उजुरी परेका छन् ।

वैदेशिक रोजगार विभागकै कर्मचारी अनियमितामा बढी संलग्न हुँदा कामदार ठग्ने म्यानपावरलाई समेत कारवाही भएको छैन । विभागले कुनै कारवाही नगर्दा संस्थागत उजुरीको सङ्ख्या पनि बढ्दै गएको छ । व्यक्तिगत ठगीभन्दा म्यानपावरले ठगेको उजुरी विभागमा धेरै छन् । ९ सय १५ उजुरीमा ४ सय ६४ ओटा उजुरी म्यानपावरविरुद्ध छन् । विभागको मङ्सिर महिनासम्मको तथ्याङ्कअनुसार ४ सय १५ ओटा व्यक्तिगत उजुरी परेका छन् ।

व्यक्तिगत उजुरीमा ३५ करोड १९ लाख ८५ हजार बिगो दाबी गरिएको छ । त्यस्तै संस्थागतमा ११ करोड ५९ लाख २८ हजार ९ सय ३३ रुपैयाँ बिगो दाबी गरिएको छ । उजुरीमध्ये व्यक्तिगततर्फ बढी मुद्दा दायर गरिएको छ भने मिलाउने (फरफारक) तर्फ संस्थागतको बढी छ । विभागका अनुसार व्यक्तिगततर्फ ८५ उजुरीलाई फरफारक गरिएको छ । त्यस्तै संस्थागततर्फ ५ सय २७ उजुरीलाई फरफारक गरिएको छ । व्यक्तिगतका १ सय १५ उजुरीलाई अदालतमा मुद्दा दायर गरिएको छ भने संस्थागततर्फ कुनै पनि म्यानपावरविरुद्ध मुद्दा दायर गरिएको छैन । विभागबाट निर्णय गरेर ४२ लाख संस्थागततर्फ जरिवाना भने गरिएको छ ।