विगतमा यासोक–धरान सडकको प्रतिव्यक्ति ८ सय भाडा लिँदै आएका यातायात व्यवसायीले बडादशैँलगायत पर्वको मौका छोपेर प्रतिव्यक्ति एक हजार २ सयसम्म भाडा लिएको गुनासो सर्वसाधारणले गरेका थिए ।
पाँचथरको यासोकबाट निर्माणाधीन तमोर कोरिडोर सडक हुँदै तराईका जिल्ला झर्ने सवारी साधनमा यात्रु ठगिएको गुनासो सुनिएपछि समस्या समाधान गर्न स्थानीय तहले सक्रियता देखाएको छ ।
विगतमा यासोक–धरान सडकको प्रतिव्यक्ति ८ सय भाडा लिँदै आएका यातायात व्यवसायीले बडादशैँलगायत पर्वको मौका छोपेर प्रतिव्यक्ति एक हजार २ सयसम्म भाडा लिएको गुनासो सर्वसाधारणले गरेका थिए । गुनासोपछि स्थानीय प्रहरीको सहयोगमा सवारी नियन्त्रणमा लिई पाँचथरको कुम्मायक गाउँपालिकाले व्यवसायीसँग छलफल गरेको छ ।
प्रहरी चौकी यासोकको सहयोगमा शनिबार सवारीसाधन नियन्त्रणमा लिई आइतबार सर्वपक्षीय छलफलपछि सवारीसाधन छोडिएको छ । आइतबार गाउँपालिका प्रमुख, यातायात व्यवसायी सहितको सर्वपक्षीय छलफलले तत्काललाई दशैँ अघिकै भाडा लिई सवारी सञ्चालन गर्ने तथा काउण्टर खडा गरी टिकट काटेर मात्रै यात्रु बोक्ने सहमति गरेको छ । यासोकबाट मूलघाट, धरान, इटहरी, दमकलगायत स्थानसम्मको भाडा निर्धारण गर्न सुझाव दिन तीन सदस्यीय समिति गठन गरेको गाउँपालिका प्रमुख जयबहादुर चेम्जोङले जानकारी दिए ।
कुम्मायक गाउँपालिका–१ का वडाध्यक्ष देवेन्द्रकुमार लावतीको संयोजकत्वमा हिमाल यातायात सङ्घका अमरसिंह थापा र पाँचथर उद्योग वाणिज्य सङ्घ यासोक शाखाका उपाध्यक्ष महेन्द्र खड्का सदस्य रहेको समिति गठन गरिएको हो ।
उक्त समितिले कात्तिक ३० गते भित्रमा भाडा समायोजनका बारेमा सरोकारवालासँग छलफल चलाउने संयोजक लावतीले जानकारी दिए । गाउँपालिकाको केन्द्र यासोकदेखि तमोर कोरिडोरबाट सुनसरीको धरानहुँदै झापाको दमकसम्म ६ यात्रुबाहक ट्याक्सी सञ्चालित छन् ।
पाँचथरकै तुम्बेवा गाउँपालिकाको केन्द्र मौवाबाट तमोर कोरिडोर हुँदै मूलघाट, धरान र दमक जाने यात्रुबाट प्रतिव्यक्ति ८ सयदेखि एक हजारसम्म भाडा असुलिँदै आएको छ । यहाँबाट सञ्चालित सवारीसाधानले यात्रुले जति दुरी यात्रा गरे पनि एक २५ किलोमिटरको भाडा असुल्ने गरेको स्थानीयवासीको गुनासो छ । चर्को भाडा तिर्नुपरेको गुनासो स्थानीयवासीले गरेपछि तुम्बेवा गाउँपालिकाले यातायात व्यवसायीसँग पटक पटक छलफल गर्दै आए पनि समस्या समाधान भएको छैन । रासस