यात्रु बढेपछि मनकामना केवलकारले थप्यो ३ डब्बा, प्रत्येक प्रदेशमा एउटा केवलकार बन्ने मन्त्री अधिकारीको घोषणा

मनकामना जाने तिर्थालु र यात्रुको चाप बढ्दै गएपछि नेपालको पहिलो केवलकार मनकामना केवलकारमा तीनवटा गोन्डाला (डब्बा) थप गरिएको छ । १ करोड ३० लाख लागतमा थप गरिएको डब्बाको सोमबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीले शुभारम्भ गरे ।

शुभारम्भपछि मन्त्री अधिकारीले नेपालको पर्यटनमा मनकामना केवलकार अतुलनिय योगदान पुराएको बताए । नेपालमा केवलकारको अवधारणा ल्याउने स्वर्गिय लक्ष्मणबाबु श्रेष्ठको सम्झना गर्दै मन्त्री अधिकारीले मनकामना केवलकारपछि देशभर यसको प्रभाव परेको र श्रेष्ठले २ दशकअघि नै नेपालको पर्यटनलाई चलायमान गराउने टुरिजम प्रडक्ट थपेको बताए । ‘अहिले नेपालमा पर्यटनको गन्तव्य थपिने क्रम जारी छ, देशभित्र आन्तरिक पर्यटकहरु पनि घुम्न निस्किरहेका छन्,’ उनले भने । बार्षिक रुपमा आन्तरिक पर्यटक ५० लाख रहेका छन् गन्तव्य बढ्दै जाँदा पर्यटक पनि बढ्दै जाने उनले बताए । ‘प्रत्येक प्रदेशमा कम्तीमा एउटा केवलकार सञ्चालन हुन्छ,’ उनले भने ।

२०५५ मंसिर ८ गतेदेखि सञ्चालनमा आएको केवलकारमा ३ वटा डब्बा थपसँगै ३४ वटा डब्बाबाट यात्रुलाई सेवा दिने कम्पनीले जनाएको छ । थपिएको डब्बाबाट दैनिक थप १ हजार यात्रुलाई ओसारपसार गर्न सकिने पनि कम्पनीले जनाएको छ ।

कम्पनीका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठले यात्रुको अत्याधिक चापका कारण २० बर्षपछि तीनवटा डब्बा थप गरिएको बताए । ‘सुरुको पहिलो बर्ष मनकामना केवलकार चढ्ने बार्षिक ३ लाख थिए पछिल्लो बर्ष १० लाख अधिक छन्,’ उनले भने ।

केवलकार सञ्चालनमा आएदेखि आइतबारसम्म १ करोड ३८ लाख १२ हजार ४ सय ८६ यात्रुहरुलाई सेवा दिएको कम्पनीले जनाएको छ । केवलकार चढ्ने यात्रुहरुमध्ये २१ प्रतिशत भारतीय यात्रुहरु रहेको श्रेष्ठले जानकारी दिए । ‘हामीले मनकामनापछि अन्य ठाउँमा पनि केवलकार विस्तार गर्ने योजना लिएका छौं,’ श्रेष्ठले भने । ३ बर्षभित्र देशका अन्य क्षेत्रमा पनि सेवा दिने उनले बताए ।