सेयर बजारको वृद्धि टिक्न धौधौ

ठूलो अन्तरमा बजार घट्नुपर्ने वा बढ्नुपर्ने गरी मुलुकको राजनीतिक तथा आर्थिक परिदृश्यमा कुनै परिवर्तन नभएकाले लगानीकर्ता संयमित भएर कारोबार गर्नुपर्ने बेला हो ।

धितोपत्रको कारोबार गर्ने स्थल नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से)को वृद्धि टिक्न धौधौ परेको छ । सोमबार ४४.२२ अङ्कको वृद्धि देखिए पनि मङ्गलबार भने २.४४ अङ्क (०.१७ प्रतिशत)को मात्र वृद्धि देखिएको छ ।

कारोबारको सुरुमै बजार बढ्न अग्रसर भएर १०.५६ अङ्कको वृद्धि देखिएको थियो । तर, कारोबारको ४५ मिनेटकै अन्तरमा बजार ४.८६ अङ्कले घटेर १४२९.९४ अङ्कमा झरेको थियो । फेरि कारोबारमा सुधार हँुँदै १८.४८ अङ्कको वृद्धि भएर १४५३.२६ अङ्कसम्म चढे पनि बजार भने १४३७.२४ अङ्कमा समेटिएको हो । दिनभर नै कारोबारमा उतारचढाव आउँदा बजारमा वृद्धि टिक्न धौधौ भएको छ । यसले आगामी दिनमा बजार बढ्नेभन्दा घट्नतर्फ सङ्केत गरेको छ ।

मङ्सिर अन्तिमबाट निरन्तर ओरालो लागेको बजारमा सोमबार एकाएक उछाल देखिएको थियो । यसले लगानीकर्तामा उत्साह छाएको आँकलन गरिएको थियो । ठूलो अन्तरमा बजार घट्नुपर्ने वा बढ्नुपर्ने गरी मुलुकको राजनीतिक तथा आर्थिक परिदृश्यमा कुनै परिवर्तन नभएकाले लगानीकर्ता संयमित भएर कारोबार गर्नुपर्ने बेला हो । बजारमा सीमित लगानीकर्ताको मिलोमतोमा चलाइने अनेक हल्लाबीच उनीहरूले नाफा ‘बुक’ गर्ने सेयर बजारको आम प्रचलन भएकाले सामान्य लगानीकर्ता अझ सचेत हुनु आवश्यक छ ।

मङ्गलबार बैङ्किङ, व्यापार र अन्य समूहमा सामान्य सुधार देखिएपछि नेप्से पनि बढेको छ । तर, अन्य सातओटा समूहगत परिसूचकमा भने गिरावट देखिएको छ । बैङ्किङ १०.१३, अन्य ४.३४ र व्यापार ०.०८ अङ्कले बढेको छ । त्यसैगरी बिमा ६१.३४, होटल ५१.५८, जलविद्युत् २८.६१, लघुवित्त ८.२६, उत्पादनमूलक ५.८६, विकास बैङ्क ४.०६ र वित्त कम्पनी परिसूचकमा २.५८ अङ्कको गिरावट देखिएको छ ।

मङ्गलबार ६ हजार ८ सय २ कारोबारबाट १२ लाख ६२ हजार ४ सय १७ कित्ता सेयर किनबेच भई ६३ करोड ३२ लाख २२ हजार ४ सय १२ रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ । मङ्गलबारको कारोबार रकम औसतभन्दा केही बढी हो । सोमबार ५ हजार १ सय ६७ कारोबारबाट ११ लाख ३२ हजार ५८ कित्ता सेयर किनबेच भई ४९ करोड ४३ लाख १७ हजार २ सय ११ रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ । मङ्गलबार पनि स्ट्यान्डर्ड चार्टड, प्रभु, एभरेस्ट, नबिल बैंकलगायतको अधिक कारोबार भएको छ ।

यसैबीच नेपाल इन्भेस्टर्स फोरमले गभर्नर डा. चिरञ्जीवी नेपाललाई भेटी मार्जिन कलको सीमा ७० प्रतिशत पु¥याउन माग गरेको छ । यसअघि केन्द्रीय बैङ्कले धितोपत्र मूल्याङ्कनको ५० प्रतिशत मात्रै ऋण प्रवाह गर्न सक्ने व्यवस्था गर्दै आएको छ । त्यसैगरी फोरमले सेयरमा गरिएको लगानीको जोखिमभार घटाएर शतप्रतिशत मात्र कायम गर्न माग गरेको छ । उसले बैङ्कहरूलाई दलाल अनुमतिपत्र दिन पनि राष्ट्र बैङ्कसँग माग गरेको छ । यसअघि केन्द्रीय बैङ्कले सेयर धितोमा गरिएको लगानीलाई उच्च जोखिममा राखी १ सय ५० प्रतिशत जोखिम भार राख्नुपर्ने व्यवस्था गरेको छ ।