कम्पनीले केबलकार सञ्चालनका लागि स्विट्जरल्यान्डबाट इलेक्ट्रिकल र प्रोग्रामर इन्जिनियर बोलाएको छ । एक जना प्राविधिकलाई दैनिक दुई लाख रुपैयाँ दिएर राखेको छ । तर, टेलिकम आफूले उपलब्ध गराएको समयसीमाभित्र इन्टरनेट जडान गरेको भए कम्पनीलाई यत्रो क्षति हुने थिएन ।
नेपाल टेलिकमको बदमासीकै कारण कालिञ्चोक केबलकारलाई दैनिक चार लाख रुपैयाँ नोक्सान भइरहेको छ । टेलिकमले समयमै इन्टरनेट नजोडिदिएकाले केबलकारलाई यति ठूलो घाटा भएको हो ।
कम्पनीले केबलकार सञ्चालनका लागि स्विट्जरल्यान्डबाट इलेक्ट्रिकल र प्रोग्रामर इन्जिनियर बोलाएको छ । एक जना प्राविधिकलाई दैनिक दुई लाख रुपैयाँ दिएर राखेको छ । तर, टेलिकम आफूले उपलब्ध गराएको समयसीमाभित्र इन्टरनेट जडान गरेको भए कम्पनीलाई यत्रो क्षति हुने थिएन ।
कम्पनीले इन्टरनेट जडान गर्न दुई महिनाअघि टेलिकमलाई धरौटी बुझाइसकेको छ । टेलिकमले धरौटी बुझाएको एक हप्तामा इन्टरनेट जडान गरिदिने प्रतिबद्धता जनाएको थियो । एक हप्तामा इन्टरनेट जडान हुने समयसीमा पाएपछि कम्पनीले स्विट्जरल्यान्डका प्राविधिकलाई बोलाएको थियो । तर, ६० दिन बितिसक्दा पनि इन्टरनेट जोडिएको छैन । प्राविधिक दुई दिन अघि दोलखाको कालिन्चोक पुगेका छन् ।
इन्टरनेट र टेलिफोन जडानका लागि कालिञ्चोक केबलकारले दुई महिनाअघि नै नेपाल टोलिकम दोलखामा धरौटी बुझाइसकेको केवलरका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले जानकारी दिए । ‘टेलिकमले नै इन्टरनेट सेवा दिने भनेपछि हामी अन्य कम्पनीमा गएनौं,’ प्रमुख कार्यकारी अधिकृत शिवाकोटीले भने, ‘अहिले आएर समस्या भयो ।’
केबलकारको परीक्षण सञ्चालनका लागि स्विट्जरल्यान्डबाट इलेक्ट्रिकल र प्रोग्रामर इन्जिनियर आएका छन् । उनीहरुको काम सकिन बढीमा २–३ दिन लाग्ने र १५–२० दिन टेस्ट गरेपछि मात्र नियमित रुपमा सञ्चालनमा आउने बताइएको छ ।
नेपाल टेलिकमका सहप्रवक्ता सोभन अधिकारीले यही हप्ताभित्र प्राविधिक टोली त्यसतर्फ जाने बताए । प्राविधिक कारणले केही ढिला भएको उनको भनाइ छ । यता केबलकार सञ्चालकमध्यकै एक सदस्यले भने टेलिकमबाट हाकिम कालिञ्चोक घुम्न जाने इच्छा राखेका कारण ढिला भएको बताएका छन् । हामीले पटक पटक टेलिकममा फोन गरेर इन्टरनेट जडानका लागि अनुरोध गर्दा ‘हाकिमले कालिञ्चोक घुम्ने रहर गर्नुभएको छ, उहाँको समय मिलाएर आउँछौं’ भन्ने जवाफ दिएको स्रोतको भनाइ छ ।
कालिञ्चोक दर्शन लिमिटेडले दोलखाको कालिञ्चोक गाउँपालिका १ कालिञ्चोकमा निर्माण गरिरहेको सो केबलकारमा ४ ओटा डब्बा छन् । हरेक डब्बामा १० जना बस्न सकिने क्षमता रहेको कम्पनीले जनाएको छ । केबलकारको यात्रा ४ मिनेटको हुने छ । ४० करोड रुपैयाँको लागतमा निर्माण भइरहेको सो केबलकारमा दोलखाली उद्योगी बालकृष्ण शिवाकोटीलगायतको लगानी छ ।