पर्यटकको चाप बढेसँगै तारा एयरले यस वर्षकै सबैभन्दा बढी दैनिक २० पटकसम्म उडान गरेको छ ।
पर्यटकीय सिजन सुरु भएसँगै सोलुखुम्बुको लुक्लामा हवाई चाप बढेको छ । पर्यटकको चाप बढेसँगै तारा एयरले यस वर्षकै सबैभन्दा बढी दैनिक २० पटकसम्म उडान गरेको छ ।
तारा एयरलाइन्सका प्रवक्ता भीम राईले गत वर्षभन्दा यस वर्ष लुक्ला जाने पर्यटकको सङ्ख्यामा वृद्धि भएको बताए । पर्यटकको चापलाई ध्यानमा राखी केही दिन तारा एयरलाइन्सले रामेछापको मन्थलीबाट पनि उडान सुरु गरेको उनको भनाइ छ । मन्थलीसम्म एयरलाइन्सकै खर्चमा लगेको र त्यहाँबाट जहाजमा राखी लुक्लासम्म पु¥याउने गरिएको बताए ।
विदेशी नागरिकहरुलाई लक्ष्य गरी सञ्चालनमा ल्याइएका एयरलाइन्सहरुमा पछिल्लो समय धेरै नेपालीहरु पनि यात्रा गर्न लागेको प्रवक्ता राइको भनाइ छ । ‘यो सिजनमा बढी मात्रामा लुक्ला जाने मात्र यात्रु हुने गरेका थिए,’ प्रवक्ता राइले भने, ‘तर यस वर्ष फर्किने जहाज पनि भरिभराउ हुँदै आएका छन् ।’ नेपाल सरकारले सुरु गरेको ‘पहिला देश अनि विदेश’ भन्ने नाराले पछिल्लो समय सार्थकता पाउन लागेको राइको भनाइ छ ।
लुक्लामा सीता, तारा, समिट र नेपाल एयरलाइन्सले उडान भर्दै आएका छन् । समिट र सीताले यो वर्षको सबैभन्दा बढी दिनको १६/१६ पटक उडान भरेका छन् । यस्तै नेपाल एयरलाइन्सले पनि दैनिक ३ पटकसम्म उडान भरेको थियो । यसैगरी विभिन्न हेलिकप्टरका गरी दैनिक ८० ओटासम्म उडान भएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले पछिल्लो समय लुक्लामा हवाई चाप बढेको बताए । माउन्टेन फ्लाइटको सङ्ख्यामा बृद्धि भएकै कारण विमानस्थल बिहान ५ बजेबाटै सञ्चालनमा ल्याइएको बताउँदै प्रभावकारी कार्यन्वयनमा समेत आएको जानकारी दिए ।
लुक्लामा माउन्टेन हेलिकोप्टर, प्रभु हेलिकोप्टर, एयर डाइनेष्टी, सिम्रिक एयर, श्री एयरलाइन्स, फिस्टेल एयर, मनाङ एयर, अल्टिच्युड एयर, हेली एभरेष्ट र कैलाश हेलिकप्टरले उडान गर्दै आएका छन् । खुम्बु भ्रमण गर्न जाने पर्यटकहरुको सङ्ख्या बढेसँगै जहाज र हेलिकप्टर कम्पनीहरुको उडान सङ्ख्या पनि बढेको हो ।