लुम्बिनीमा निर्माणाधीन बौद्ध ध्यान केन्द्रको काम २५ प्रतिशत सकियो

लुम्बिनीमा हुने बुद्ध जयन्ती समारोह, आध्यात्मिक, धार्मिकलगायतका कार्यक्रम गर्न हलको अभाव भएपछि लुम्बिनी विकास कोषले दक्षिण एसियाकै नमुना सभाहल बनाउन सुरु गरेको छ ।

नेपालको प्रमुख धार्मिक पर्यटकीय केन्द्रको रुपमा रहेको लुम्बिनीमा निर्माण भइरहेको बौद्ध ध्यान केन्द्रको काम २५ प्रतिशत सम्पन्न भएको छ । लुम्बिनीमा हुने बुद्ध जयन्ती समारोह, आध्यात्मिक, धार्मिकलगायतका कार्यक्रम गर्न हलको अभाव भएपछि लुम्बिनी विकास कोषले दक्षिण एसियाकै नमुना सभाहल बनाउन सुरु गरेको छ ।

२०७५ बैसाख १७ बाट निर्माण कार्य सुरु भएको सो ध्यान केन्द्र ५ हजार व्यक्ति अट्ने क्षमताको हुनेछ । ठूलो क्षमताको हल नहुँदा धेरै समस्या भएपछि लुम्बिनी विकास कोषले देशकै ठूलो र अत्याधुनिक ध्यान केन्द्रसहितको सभाहल निर्माण कार्य सुरु गरेको हो ।

भगवान् गौतम बुद्धको जन्मस्थलको रुपमा रहेको लुम्बिनीमा निर्माण भइरहेको सो सभाहल १० हजार वर्गमिटर क्षेत्रफलमा निर्माण भइरहेको छ । चीनको प्राचीन यिन यान शैलीमा निर्माण भइरहेको सो ध्यान केन्द्रको काम २ वर्षभित्र सम्पन्न गर्ने गरी अघि बढिरहेको लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले जानकारी दिए ।

कोषले बनाएको गुरुयोजनामा ध्यान केन्द्रको लागत ३८ करोड रुपैयाँ उल्लेख गरिएपनि पछि २८ करोडमै निर्माण गर्ने गरी सम्झौता भएको योजना प्रमुख भट्टराईको भनाइ छ । हाल जमिनमुनिको १२० पाइल फाउन्डेसनको काम समापन गरी पिल्लर र बिम बनाउने काम सुरु भएको बताए ।

ध्यान केन्द्र बनेपछि विश्वभर छरिएर रहेका बौद्धधर्मावलम्बीहरु लुम्बिनीमा आउँदा सहज रुपमा ध्यान गर्न सक्ने योजना प्रमुख भट्टराईले बताए । ध्यान केन्द्रको काम तीव्र गतिमा बढिरहेको बताउँदै सम्झौता अवधिभन्दा अघि नै सम्पन्न गर्ने लक्ष्य आयोजनाले लिएको बताए । यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले सो ध्यान केन्द्र २२ महिनाभित्रै सम्पन्न गर्न निर्देशन दिइसकेका छन् । उनले भ्रमण वर्ष २०२० को एउटा प्रमुख आकर्षणको रुपमा सो ध्यान केन्द्र पनि हुने बताएका छन् ।