रसुवागढी र साञ्जेनले सेयर बिक्री गर्दै

रसुवावासीले भूकम्पका कारण आफूहरु घर तथा आवास निर्माणमा लागेको र तत्काल एक अर्बभन्दा बढीको लगानी गर्न नसक्ने बताउँदै आएका छन् ।

रसुवामा निर्माणाधीन रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि सेयर बिक्रीको प्रक्रिया सुरु गरेका छन् ।

स्थानीयवासीलाई सेयर बिक्री नगरिकनै ती कम्पनीले सर्वसाधारणलाई सेयर बिक्री गर्न लागेका हुन् । रसुवावासीले भूकम्पका कारण आफूहरु घर तथा आवास निर्माणमा लागेको र तत्काल एक अर्बभन्दा बढीको लगानी गर्न नसक्ने बताउँदै आएका छन् । रसुवागढी जलविद्युत् कम्पनीका प्रमुख माधव कोइरालाले एक अर्ब २६ करोड ३१ लाख पाँच हजार रूपैयाँबराबरको साधारण सेयर बिक्रीका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

उनले भने, “स्थानीयवासीले आफूहरुलाई सेयर बिक्रीको समय पछाडि सारिदिन गरेको आग्रह नेपाल धितोपत्र बोर्डलाई जानकारी गराएका छाैं । बोर्ड अनुमति दिने प्रक्रियामा छ ।” सो कम्पनीले रसुवावासीलाई ६८ करोड ४२ लाख १० हजार रूपैयाँबराबरको साधारण सेयर बिक्री गर्नेछ । कुल ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना निर्माण गरिरहेको कम्पनीले आगामी आवमा आयोजना निर्माण सक्ने जनाएको छ ।

यस्तै साञ्जेन जलविद्युत् कम्पनीले पनि सर्वसाधारणलाई सेयर बिक्री गर्ने भएको छ । स्थानीयवासीको मागका आधारमा आफ्नो कम्पनीले सर्वसाधारणलाई सेयर बिक्री गर्न लागेको आयोजना प्रमुख किरण श्रेष्ठले जानकारी दिए । सो कम्पनीले रसुवामा १४ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन र ४२ दशमलव ५ मेगावाट क्षमताको साञ्जेन आयोजना निर्माण गरिरहेको छ । कम्पनीले सर्वसाधारणलाई ५४ करोड ७५ लाख तथा रसुवावासीलाई ३६ करोड ५० लाख रूपैयाँबराबरको साधारण सेयर बिक्री गर्ने तयारी गरेको छ । दुवै आयोजना आगामी आवभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । रासस