सर्वसाधारणलाई खुला गरिएको दोस्रो दिन शुक्रबार पौने ४ बजेसम्म एक लाख १६ हजार पाँच सय जनाले आवेदन दिएको आयोजनाले जनाएको छ ।
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा सेयर आवेदन दिने सर्वसाधारणको ओइरो लागेको छ । सर्वसाधारणलाई खुला गरिएको दोस्रो दिन शुक्रबार पौने ४ बजेसम्म एक लाख १६ हजार पाँच सय जनाले आवेदन दिएको आयोजनाले जनाएको छ ।
आयोजना प्रमुख विज्ञान श्रेष्ठले पौने ४ बजेसम्म २ अर्ब २२ करोड रुपैयाँको आवेदन परेको जानकारी दिए । ‘तामाकोसीको सेयर कुरेर बसेका रहेछन्,’ उनले क्यापिटल नेपालसँग भने, ‘खुलेको दोस्रो दिनमा सर्वसाधारणको उत्साहबाट पुष्टि भएको छ ।’
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर हिजोदेखि बिक्री खुला भएको हो ।
कम्पनीको आईपीओमा सर्वसाधारणले न्यूनतम ५० देखि १ हजार कित्तासम्म आवेदन दिन पाउने बिक्री प्रबन्धक नागरिक लगानी कोषले जानकारी दिएको छ । सेयरमा शुक्रबारदेखि देखि कात्तिक १९ गतेसम्म आवदेन दिन पाइने छ । कम्पनीको सह बिक्री प्रबन्धकमा सनराइज क्यापिटल तोकिएको छ ।
सर्वसाधारणलाई बिक्री गर्ने कुल २ करोड ६४ लाख ७५ हजार कित्तामध्ये १ करोड ५ लाख ९० हजार कित्ता स्थानीय आयोजना प्रभावितलाई बिक्री गरिएको थियो । स्थानीयलाई बिक्री गरेर बाँकी रहेको १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर सर्वसाधरणका लागि बिक्री खुला गरिएको हो ।