संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले निर्माणाधीन पार्किङस्थल अवलोकन गर्दै ६ महिनाभित्र सम्पूर्ण काम सिध्याउन निर्देशन दिएका छन् । हाल विमानस्थलको पूर्व र दक्षिणतर्फ ४ ओटा ठूला जहाज राख्न सकिने क्षमताको पार्किङस्थल निर्माण भइरहेको छ ।
नेपालको एक मात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा अबको ६ महिनाभित्र ४ ओटा ठूला जहाज अट्ने क्षमताको पार्किङ बे थपिने भएको छ ।
ठूला जहाज राख्ने पर्याप्त पार्किङ बे नहुँदा विमानस्थलमा लामो समयसम्म जहाज राख्न समस्या भएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले निर्माणाधीन पार्किङस्थल अवलोकन गर्दै ६ महिनाभित्र सम्पूर्ण काम सिध्याउन निर्देशन दिएका छन् । हाल विमानस्थलको पूर्व र दक्षिणतर्फ ४ ओटा ठूला जहाज राख्न सकिने क्षमताको पार्किङस्थल निर्माण भइरहेको छ ।
विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले पूर्वतर्फ बनिरहेको पार्किङ बे फागुनभित्र (४ महिना)मा सम्पन्न हुने र दक्षिणतर्फ बनिरहेको पार्किङ बे बैशाख भित्र (६ महिना)मा सम्पन्न हुने बताए । हाल पूर्वतर्फ दुई ओटा ठूला (३–३०) र साना (३–२०) जहाज अट्ने दुई ओटा पार्किङ बेको काम तीव्र गतिमा भइरहेको छ भने दक्षिणतर्फ बन्ने पार्किङ बेको काम सुरु हुन बाँकी छ । दक्षिणतर्फ पनि दुई ओटा ठूला (३–३०) र तीन ओटा साना (३–२०) जहाज पार्किङ गर्न सकिन्छ । तीमध्ये पूर्वतर्फ बनिरहेको पार्किङ बेको लागत ४६ करोड र दक्षिणतर्फ बन्ने पार्किङ बेको खर्च ५९ करोड रुपैयाँ लाग्ने नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए ।
हाल विमानस्थलमा भएको पार्किङस्थल तीन ओटा ठूला (३–३०) र छ ओटा साना (३–३०) गरी नौ ओटा जहाज पार्किङ गर्न सकिने क्षमताको छ ।
आफू मन्त्री भएर आएलगत्तै पार्किङस्थलको क्षमता वृद्धि गर्न लागेको बताउँदै निर्माण कम्पनीले गरेको ढिलाइप्रति चासो व्यक्त गरेका छन् । उनले क्यानका महानिर्देशक गौतम र विमानस्थलका महाप्रबन्धक क्षेत्रीलाई छ महिनाभित्र चार ओटै पार्किङस्थलको काम सम्पन्न गरी सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् । पार्किङ बे निर्माण भएपछि विमानस्थलले गति लिनेमा आफू विश्वस्त रहेको मन्त्री अधिकारीको भनाइ छ ।
यस्तै विमानस्थलको टर्मिनल भवन निर्माणमा भएको ढिलाइप्रति पनि आपत्ति जनाएका छन् । उनले अबको ४ महिनाभित्र भवनको सम्पूर्ण काम सम्पन्न गरी विमानस्थललाई बुझाउन निर्माण कम्पनीलाई निर्देशनसमेत दिएका छन् । सो भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । भवनको काम प्रेरा आशिष जेभीले गरिरहेको छ ।